नयाँ वर्ष पारेर फुटबल प्रतियोगिता

  चैत २१, २०७८

बागलुङ, चैत २१ : नयाँ वर्षको अवसर पारेर आउँदो वैशाख ७ देखि १० गतेसम्म यहाँ ‘राजेन्द्र स्मृति कालिका कप’ फुटबल प्रतियोगिता हुने भएको छ । संयुक्त चार युवा क्लबद्वारा आयोजित प्रतियोगिता बागलुङ नगरपालिका–४ स्थित ओडारचौर बहुउद्देश्यीय खेल मैदानमा चल्नेछ । प्रतियोगितामा १५ टोली सहभागी हुने क्लबका अध्यक्ष अभिषेक कटवाल क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेता टोलीले ट्रफीसहित रु एक लाख र उपविजेताले रु ७० हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिता सम्पन्न गर्न रु आठ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । सेभेन–ए साइडको उक्त प्रतियोगिता नकआउट प्रणालीबाट खेलाइनेछ । फुटबलसँगै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा टोली दर्ता शुल्क रु नौ हजार तोकिएको छ । प्रतियोगिता सञ्चालनका लागि वडाले रु दुई लाख र दिवङ्गत राजेन्द्र कटवाल क्षेत्रीका परिवारले रु एक लाख सहयोग गरेको क्लबका सहसचिव रोशन कँुवरले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कारको प्रबन्ध गरिएको छ ।

तपाईको प्रतिक्रिया