पायोे कृषि उपजले बजार

  चैत २१, २०७८

रोल्पा, चैत २१ : रोल्पाका घरेलु तथा लघु उद्यमबाट उत्पादित कृषि उपजले बजार पाउन थालेको छ । कृषिबाट उत्पादित वस्तुको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले जिल्लास्थित घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको महोत्सवका कारण ती उपजले बजार पाउन थालेका हुन् ।

महोत्सवमा स्थानीय अल्लोबाट उत्पादित ब्याग, पर्स, सलजस्ता वस्तु विशेष आकर्षणका रुपमा बिक्री वितरण भइरहेका छन् । जिल्ला बाहिरबाट आउनेहरुको आकर्षण यी सामानमा देखिएको महासङ्घका अध्यक्ष मिलन डाँगी बताउनुहुन्छ ।

महोत्सवमा स्थानीय उत्पादनहरु हँसिया, खुकुरी र फर्निचरका साथै स्थानीय कृषि उपजहरु सुन्तलाको जुस, मह र टिमुर पनि राखिएका छन् । रोल्पाको माडी गाउँपालिकामा उत्पादित मार्बल, थवाङको स्लेट ढुङ्गाले पनि दर्शकको ध्यान खिच्न सफल भएको छ ।

महोत्वसमा खसीबोका पनि राखिएको आयोजकले जनाएको छ । “महोत्सवले स्थानीय उत्पादनलाई प्रचारप्रसार तथा बजारीकरण गर्न निकै सहयोग गरेको देखिन्छ,” अध्यक्ष डाँगी भन्नुुहुन्छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यही चैत १७ गते उद्घाटन गर्नुभएको महोत्सव २६ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक जीतबहादुर महरा बताउनुहुन्छ ।महोत्सवमा १२८ स्टल राखिएका छन् ।

निर्वाहमुखी कृषिलाई बजारमुखी बनाउन महोत्सव आयोजना गरिएको आयोजक संस्थाको भनाइ छ । सदरमुकाम लिवाङमा सञ्चालित महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहेको र दैनिक सात हजारभन्दा बढी दर्शकले अवलोकन गरिरहेको महासङ्घको भनाइ छ ।

तपाईको प्रतिक्रिया