‘योग जीवनका लागि आवश्यक ’

  चैत २१, २०७८

दमौली, चैत २१ : तनहुँको व्यास नगरपालिका–५ का रामकाजी श्रेष्ठ बिहान सबेरै उठेर योग गर्न पुग्नुभयो । बिहान ५ बजेदेखि ७ बजेसम्म पाँच दिन नियमित योग शिविरमा सहभागी हुनुभएका उहाँले अब घरमै पनि योग गर्न जान्ने हुनुभएको छ ।

व्यास नगरपालिकाको आयोजना र पतञ्जली योग समितिको व्यवस्थापनमा चापाघाटस्थित शान्तिवर्ष बोर्डिङ स्कुलको प्राङ्गणमा यही चैत १६ गतेदेखि २० गतेसम्म आयोजित शिविरमा उहाँले योगका विभिन्न प्रकार सिक्नुभयो । “पाँच दिनको शिविरले योगका बारेमा धेरै कुरा सिकायो, अब त घरमै पनि आफैँले गर्न सक्छु,” उहाँले भन्नुभयो, “ योग गर्दा शरीरमा छुट्टै फुर्ति आउँदो रहेछ ।”

चापाघाट टोल विकास संस्थाका अध्यक्षसमेत रहनुभएका उहाँले सबैले नियमितरुपमा योग गर्नुपर्ने सुझाव दिनुभयो । “अब त म पनि बिहान नियमित योग गर्छु, अरुलाई पनि योग गर्न प्रेरणा दिन्छु”, उहाँले भन्नुभयो । सोही वडाको कन्टार टोल विकास संस्थाका अध्यक्ष भद्र खनाल पनि नियमितरुपमा योग शिविरमा सहभागी हुनुभयो । पाँच दिन नियमितरुपमा योग गर्दा पनि शरीर स्वस्थ भएको अनुभव भएको उहाँले सुनाउनुभयो । “म पनि अब घरमै नियमित योग गर्छु, योग मानिसको जीवनका लागि अति आवश्यक छ”। उहाँले भन्नुभयो ।

जिल्लामा आयोजना हुने योग शिविरमा सर्वसाधारणको आकर्षण बढेको छ । चापाघाटमा आयोजित शिविरमा दैनिक ३०० भन्दा बढीको सहभागिता रहने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । शिविर सञ्चालन भएपछि नियमितरुपमा योग गर्नुपर्छ भन्ने चेतना जागृत भएको उहाँले बताउनुभयो । “योग भनेको मानिसको जीवनमा सधैँ आवश्यक छ भन्ने प्रेरणा शिविरले दिएको छ”, उहाँले भन्नुभयो, “योगको महत्व प्रचारप्रसारका लागि पनि शिविर सार्थक भयो ।”

शिविरमा सहभागी हुनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले योगले मानिसलाई स्वस्थ राख्ने भएकाले नियमित योग गर्नुपर्ने बताउनुभयो । शिविरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललगायतको सहभागिता रहेको थियो ।

पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ । यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया