मौरीपालक किसानलाई अनुदान

  चैत २१, २०७८

भजनी, चैत २१ : कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी – ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त हुनुहुन्छ ।व्यावसायिक मौरीपालन गर्दै आएका उहाँ मौरीका घार बोकेर सो वनमा जानुभएको हो । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उहाँ मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्नुहुन्छ ।

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पुर्‍ययाउन पनि उहाँलाई कुनै समस्या छैन । “मसँग धेरै मौरी त छैन । व्यवसायलाई विस्तारै बढाउँदै गएको छु ।” उहाँले भन्नुभयो, “मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीँ बाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइलगायतको सबै खर्च बेहोर्ने गरेको छु ।”

उहाँ मौरीपालन व्यवसायसँगै अन्य कृषि पेसामा समेत जोडिनुभएको छ । उहाँको सबै परिवार नै कृषिमा केन्द्रित छ । “कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर त्यसमा किसानलाई कुनै अनुदान सहयोग अहिलेसम्म पनि भएको छैन ।“ किसान बलबहादुरले भन्नुभयो, “स्थानीय सरकारले पनि सहयोग गरेको छैन । अन्य कृषि क्षेत्रमा अनुदान आउँछ । होउन भने मौरीपालनलाई कृषिसँग जोड्नुभएन ।”

उहाँ मात्रै होइन, पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसान आकर्षित हुन सकेका थिएनन् । विशेष गरी पूर्वी क्षेत्रबाट मौरीपालक किसान तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन् । त्यहाँबाट आएका मौरी पालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ । कतिपय किसानले व्यावसायिक रुपमा काम सुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन व्यवसाय सुरु पनि गरेका छन् । बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ । किसानले अहिले उत्पादन भएको मौरीको मह प्रतिकेजी रु ५०० मा भन्दा बढीमा बिक्री गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया