हाफ मयारथनमा दीपक र पुष्पा पहिलो

  चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी किसुन जी स्मृति राष्ट्रिय खुला हाफ मयारथनमा शनिबार पहिलो हुनुभएको छ । दुवै १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुनुहुन्छ । सागमा दीपकले कांस्य र पुष्पाले रजत जित्नुभएको थियो ।

दीपकले निर्धारित दूरी तय गर्न १ घण्टा ५ मिनेट ३४ सेकेन्ड समय पूरा गर्नुभयो । बाग्लुङका तीर्थकुमार पुन दोस्रो र आर्मीका राजन रोकाया तेस्रो हुनुभयो । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशद्वारा आयोजित प्रतियोगितामा महिलातर्फ पुष्पाले दौड सकाउन १ घण्टा २१ मिनेट ५० सेकेन्ड समय खर्चिनु भएको थियो ।

एपीएफकै विन्द्रा धन्के श्रेष्ठ दोस्रो र नेपाल पुलिसकी रेखा विष्ट तेस्रो हुनुभयो । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, इन्द्र बानियाँ, आयोजकका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार प्रदान गर्नुभयो । दौड गोल्फुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः गोल्फुटारमै पुगेर सकिएको थियो ।

तपाईको प्रतिक्रिया