टेबलटेनिसमा दीप च्याम्पियन

  पुष ०३, २०७८

काठमाडौँ, पुस १ : नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बन्नु भएको छ । भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको हलमा भएको फाइनलमा दीपले एपीएफ क्लबका सन्योग कपालीलाई ११–७, १६–१४, ११–५, ६–११, ७–११, ११–५ को सेटमा हराउनुभयो ।

यसअघि महिला सिंगल्स फाइनलमा नेपाल आर्मीकी रविना महर्जनले आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४, ११–३ को सोझौ सेटमा हराउदै उपाधि जित्नुभयो । सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५पाँ हजार र दुई हजार पाँच सय रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि कीर्तिपुरका जयराम महर्जन पहिलो, एनिस पिङपोङ क्लबका रक्तचन्द्र मानन्धर दोस्रो तथा गोडस्पिनका निकेनमान प्रधान र मुकेश महर्जन तेस्रो हुनुभयो । ५० वर्षमाथि ललितपुर टेबलटेनिस क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, ललितपुरकै राजन सुब्बाले रजत तथा खोल्छा पुखुका नदिम शाक्य र एनिसका कपुर शर्माले कांस्य जित्नुभयो ।

६० वर्षमाथि ललितपुरका आनन्दरत्न धाक्वा प्रथम, ललितपुरकै जग्दिशप्रसाद जोशी दोस्रो तथा एपीएमका सुमन खड्गी र ललितपुरका ध्रुवमान श्रेष्ठ तेस्रो हुनुभयो । यू–१६ सिंगल्सको ब्वाइजमा न्यु हाराइजनका प्रवेश बस्नेत र गल्र्समा नेपाल आर्मीकी दिया देउला तथा मिक्स डबल्समा आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी पहिलो हुनुभयो । तीनदिने प्रतियोगितामा तीन सय ५० खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया