वेस्ट हामलाई हराउँदै आर्सनल चौथो स्थानमा

  पुष ०१, २०७८

काठमाडौँ, पुस १ : आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा वेस्ट हाम युनाइटेडलाई २–० गोलले हराउँदै आर्सनल शीर्ष चारमा उक्लिएको हो ।

आर्सनलको जितमा गाब्रियल मार्टिनेली र इमिल स्मिथ रोवीले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा भएको खेलमा आर्सनलले ४८औँ मिनेटमा खाता खोलेको थियो । गाव्रियल मार्टिनेलीले अलेक्सान्द्रे लाकाजेटेको पासमा गोल गर्नुभएको थियो ।

६६औँ मिनेटमा भ्लादिमिर कोउफल दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि वेस्ट हाम १० खेलाडीमा समेटिएको थियो । त्यसपछि ८७औँ मिनेटमा इमिल स्मिथ रोवीले बुकायो साकाको पासमा गोल गर्दै आर्सनललाई सहज जित दिलाउनुभयो । पहिलो हाफमा औसत प्रदर्शन गरेको वेस्ट हामले दोस्रो हाफमा दबाब झेलेको थियो ।

जितसँगै आर्सनलले १७ खेलबाट २९ अंक बनाएको छ । पराजित वेस्ट हाम २८ अंक सहित पाँचौँ स्थानमा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३७ र तेस्रो स्थानमा रहेको चेल्सीको ३६ अंक छ । बुधबार रातिनै भएको अर्को खेलमा वल्भ्सले ब्राइटनलाई १–० गोलले हराएको छ । साउथह्याम्पटन र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

तपाईको प्रतिक्रिया