एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट

  मंसिर १८, २०७८

काठमाडौँ, मङ्सिर १८ : बंगलादेशको ढाकामा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि शनिबार १५ जना महिला खेलाडीको छनोट गरिएको छ ।

नेपाल भलिबल संघले प्रशिक्षणमा रहेका २० खेलाडीबाट १५ जनाको नाम सार्वजनिक गरेको हो । टोलीका प्रशिक्षक जगदीश भट्टले छनोट गर्नुभएका खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, सुनिता खड्का, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, कविता भट्ट, मनिसा चौधरी, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ र सरस्वती जैसी हुनुहुन्छ ।

टोलीमा लक्ष्मी चन्दले पहिलो पटक स्थान बनाउनुभएको हो । जसमध्ये शान्ति थारु, कविता भट्ट, कृपा अधिकारी, कामना विष्ट, सरस्वती जैसी र मनिषा चौधरीले पुनरागमन गर्नुभएको छ । लामो सयमदेखि नेपाली महिला टोलीमा रहँदै आउनुभएको रेश्मा भण्डारीसहित पाँच जना खेलाडी बाहिरिनु भएको छ ।

रेश्मासँगै बाहिरिनेमा पुमन चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी हुनुहुन्छ । संघले एसियन सेन्ट्रल जोनका लागि अन्तिम १२ जना महिला खेलाडीको घोषणा अर्को साता गर्ने जनाएको छ ।

साविक विजेता महिला टोलीले यसपटक उपाधि रक्षा गर्ने लक्ष्यका साथ तयारी गरिरहेको प्रशिक्षक भट्टले बताउनुभयो । नेपाल सन् २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

तपाईको प्रतिक्रिया