राखेप सदस्य सचिव घिसिङको शपथ

  मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १४ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियक्त सदस्य सचिव टंकलाल घिसिङले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहणसहित पदवहाली गर्नुभएको छ । घिसिङलाई युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गतहराजले शपथ गराउनुभएको हो । शपथसँगै सदस्य सचिव घिसिङले राखेप सचिवालयमा पुगेर पदबहाली गर्नुभएको थियो ।

पदबहाली गर्दै सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले निर्देशित गरे अनुसार आफू खेलकुदको विकासका लागि लागि पर्ने बताउनुभयो ।’ ऐनले परिकल्पना गरे अनुसार चार वर्षको लागि खेलकुदको कार्यकारी निकायमा आएको छु । खेलकुदमा देखिने खालको चारवर्षे योजना बनाएर अगाडि बढ्नेछु । खेदलकुद विकासको मुख्य पाटो भनेको राष्ट्रिय संघ हो । संघलाई ट्रयाकमा ल्याउने काम हुनेछ । आसन्न नवौँ राष्ट्रिय खेलकुद आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु,’’ घिसिङले भन्नुभयो ।

उहाँले नवौँ राष्ट्रिय खेलकुदलाई आधार मानेर राष्ट्रिय टोली निर्माण गर्ने, एक वर्षपछि आयोजना हुने एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदमा अधिकतम पदक ल्याउने हिसाले खेलाडीको तयारी गराउने पनि बताउनुभयो । ‘साग, एसियाली र ओलम्पिक खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर खेलकुदलाई वास्तवमै राष्ट्रिय प्रतिष्ठाको विषय बनाउने छु । खेलकुदमा विभिन्न आशंका छ । यसलाई विश्वासनीय, आशलाग्दो र सम्मानयोग्य स्थल बनाउने प्रतिबद्धता गर्दछु’,’ पदबहालीपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले भन्नुभयो ।

यसअघि नेपाल रग्बी संघका अध्यक्ष रहनु भएका घिसिङले सदस्य सचिव पदका लागि आवेदन दिएसँगै संघको अध्यक्ष पदबाट राजीनामा दिएको पनि बताउनुभयो । मन्त्री परिषद्को सोमबार बसेको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

सदस्य सचिव पदका लागि युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित छनोट समितिले सोमबार नै घिसिङ सहित तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले टंकलाल सहित डा.अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो । तीनजना मध्येबाट सरकारले घिसिङलाई सदस्य सचिव बनाएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव पदको लागि एक साताअघि दर्खास्त आह्वान गरेको थियो । उक्त पदका लागि कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टसहित १८ जनाको आवेदन परेको थियो ।

सदस्य सचिव पदका लागि आवेदन दिनेमा आरके विष्ट, रविराज कर्णिकार, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा, भरत चालिसे, छुम्बी लामा र सुनिल नकर्मी पनि हुनुहुन्थ्यो ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि दोस्रो पटक खुला छनोट प्रक्रियाबाट राखेपको सदस्य सचिव छनोट गरिएको हो । नयाँ ऐन अनुसार एक वर्षअघि खुला छनोट प्रक्रियाबाट तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले रमेशकुमार सिलवाललाई राखेप सदस्य सचिव नियुक्त गरेको थियो । त्यतिबेला पनि २७ जनाले आवेदन दिएका थिए । सरकार परिवर्तनसँगै रमेशकुमार सिलवाल सदस्य सचिवको पदबाट बर्खास्त भएपछि युवा तथा खेलकुद मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत नयाँ सदस्य सचिव नियुक्ति गरेको हो ।

तपाईको प्रतिक्रिया