मेस्सीलाई कीर्तिमानी सातौँ बालोन डी ओर अवार्ड

  मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १४ : अर्जेन्टिना एवं फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर लियोनल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डी ओर अवार्ड जित्नुभएको छ । पेरिसमा सोमबार राति आयोजित भब्य समारोहबीच मेस्सीलाई अवार्ड प्रदान गरिएको हो ।

सन् २०२१ को यस अवार्ड जित्ने क्रममा मेस्सीले पोल्याण्ड एवं जर्मन क्लब बायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्नुभयो । मेस्सीले ६१३ अङ्क प्राप्त गर्दा दोस्रो स्थानमा रहनुभएको लेवान्डोस्कीले ५८० र तेस्रो स्थानमा रहनुभएको इटालीका जर्गिन्होले ४६० अंक प्राप्त गर्नुभएको थियो । लेवान्डोवस्कीलाई पहिलो पटक समावेश गरिएको सर्वोत्कृष्ट स्ट्राइकरको अवार्ड प्रदान गरियो ।

यसअघि शीर्ष तीनमा रहँदै आउनुभएको पोर्चुगल एवं इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहनुभयो । रोनाल्डो सन् २०१० पछि पहिलो पटक शीर्ष तीनबाट बाहिरिनुभएको हो । मेस्सी सर्वाधिक बालोन डी ओर अवार्ड जित्ने खेलाडी बन्दा रोनाल्डो दोस्रो स्थानमा हुनुहुन्छ ।

रोनाल्डोले पाँच पटक याे अवार्ड जित्नुभएको छ । मेस्सी राष्ट्रिय टोलीबाट कोपा अमेरिका कप र बार्सिलोनालाई गत सिजन कोपा डेल रे उपाधि जिताउँदै यस अवार्डको हकदार बन्नुभएको थियो । उहाँ यसै सिजन २१ बर्षे बार्सिलोना बसाई अन्त्य गर्दै पीएसजी पुग्नुभएको थियो ।

कीर्तिमानी सातौं पटक अवार्ड जित्नुभएका मेस्सीले आफ्नो कीर्तिमान भविष्यमा तोड्न अन्य खेलाडीलाई कठिन हुने बताउनुभएको छ । ‘याे कीर्तिमान सजिलै तोडिने खालको छैन । भविष्यमा कसैले तोडे मैले स्वीकार गर्नुपर्दछ,’ ३४ वर्षीय मेस्सीले भन्नुभयो । मेस्सीले पेरिसमा फेरि एक पटक अवार्डका लागि उपस्थित हुन पाउनु आफ्ना लागि असाधारण खुशीको क्षण रहेको पनि बताउनुभयो ।

मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा बालोन डी ओर जित्नुभएको थियो । फ्रान्सबाट प्रकाशित हुने ‘फ्रान्स फुटबल’ ले हरेक बर्ष यस अवार्ड आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण गतवर्ष अवार्ड भएको थिएन ।

तपाईको प्रतिक्रिया