लिगमा मच्छिन्द्र र आर्मीको गोलरहित बराबरी

  मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १३ : साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा मच्छिन्द्रले पहिलो हाफमा पाएको राम्रा अवसर सदुपयोग गर्न सकेन । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको आर्मीको गोल गर्ने प्रयास पनि सफल भएन ।

रक्षापंक्तिमा अब्बल देखिएको आर्मीको अग्रपंक्ति फितलो बनेको थियो । बराबरीसँगै मच्छिन्द्रले दुई खेलबाट चार अंक बनाएको छ । आर्मीले समान खेलबाट दुई अंक बनाएको छ । आर्मीको यो दोस्रो बराबरी हो ।

लिगको पहिलो खेलमा आर्मी विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ गोलले हराएको थियो । आर्मीका सेसेहाङ आङ्देम्बे ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

खेलपछि मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बरबरीले उपाधि दौडमा धक्का लाग्ने बताउनुभयो । ‘लिगमा बलियो टोलीसँगको जित महत्वपूर्ण हुन्छ । हामीले आज जितका लागि खेलेका थियौँ । तर खेलाडी चल्न सकेनन् । आर्मी शारिरिक रुपमा बलियो टोली हो । हामीले उसको रक्षापंक्ति तोड्न सकेनौँ,’ कटुवालले भन्नुभयो ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले महत्वपूर्ण खेलमा गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको बताउनुभयो । ‘राम्रो खेलेपनि गोल भएन । आर्मीको स्कोरिङमा समस्या छ । नवयुग श्रेष्ठ घाइते हुँदा गाह्रो भएको छ,’ न्यौपानेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया