सिटीले जित्दा चेल्सी बराबरीमा रोकियो

  मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १३ : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित्दा शीर्षटोली चेल्सी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबा राति भएको खेलमा सिटीले वेस्ट हाम युनाइटेडलाई २–१ गोलले हरायो । जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमै भएको अर्को खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सिटीको जितमा इकेइ गुन्डोगान र फर्नान्डिन्होले गोल गर्नुभयो । वेस्ट हामका म्यानुयल लान्जिनीले सान्त्वना गोल फर्काउनुभयो । गुन्डोगानले ३३औँ मिनेटमा खाता खोल्नुभएको थियो ।

९०औँ मिनेटमा फर्नान्डिन्होले गुन्डोगानको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । इन्जुरी समयमा वेस्ट हामका म्यानुयलले गोल गरेपनि टोलीको हार जोगिएन । जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले १३ खेलबाट २९ अंक बनाएको छ । पराजित वेस्ट हाम २३ अंक सहित चौथो स्थानमा छ ।

यसैगरी प्रतिस्पर्धात्मक अर्को खेलमा म्यानचेस्टर युनाइटेलले सुरुवाती अग्रता लिएको थियो । ५०औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो । त्यसपछि ६९औँ मिनेटमा जर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई हारबाट जोगाउनुभयो । डिबक्सभित्र आरोन वान विशाखाले थियागो सिल्भालाई फल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।

बराबरीसँगै शीर्षस्थानमा रहेको चेल्सीले १३ खेलबाट ३० अंक बनाएको छ । १८ अंक बनाएको युनाइटेड आठौं स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलको २८ अंक छ । अन्य खेलमा लेस्टर सिटीले वार्टफोर्डलाई ४–२ र ब्रेन्टफर्डले एभर्टनलाई १–० गोलले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया