रियल म्याड्रिडको पूनरागमन जित

  मंसिर १३, २०७८

काठमाडौँ, मङ्सिर १३ : स्ट्रईकरद्वय करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा शीर्षटोली रियलले बलियो प्रतिद्वन्द्वी सेभियालाई २–१ गोलले हरायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली सेभियाले १२औँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो । राफा मिरले मार्काेस एकुनाको पासमा गोल गर्दै सेभियालाई अग्रता दिलाउनुभयो । सेभियाको गोलपछि आक्रामक बनेको रियलले ३२औँ मिनेटमा बराबरी गोल फर्काएको थियो ।

कप्तान करिम बेन्जेमाले रिवाउन्ड बलमा गोल गर्दै रियललाई खेलमा फर्काउनुभयो । इडर मिलिटाओको लामो प्रहारलाई सेभियाका गोलरक्षक यासिन बोनोउले नियन्त्रण गर्न नसकेको बललाई बेन्जेमाले सोझै गोल गर्नुभएको थियो ।

जारी सिजन उच्च लयमा रहेका बेन्जेमाको यो ११औँ गोल हो । सर्वाधिक गोल कर्ताको शीर्षसुचीमा रहनुभएका बेन्जेमाल सातवटा असिस्ट पनि दिनुभएको छ । ५३ प्रतिशत बल पोसेसन राखेको रियलका लागि भिनिसियसले ८७औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । उहाँले इडर मिलिटाओको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाउनु भएको हो ।

भिनिसियसको जारी लिगमा यो नवौं गोल हो । उहाँ सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा हुनुहुन्छ । सुरुवातमै गोल गरेको सेभियाले दोस्रो हाफमा राम्रा अवसर गुुमाउँदा हार खेप्न बाध्य बन्यो । जितसँगै शीर्षस्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक पुगेको छ ।

हारपछि २८ अंक बनाएको सेभिया चौथो स्थानमा झरेको छ । २९ अंक बनाएको एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । आइतबार रातिनै भएको खेलमा एट्लेटिकोले काडिजलाई उसैको मैदानमा ४–१ गोलले पराजित गरेको थियो । पराजित काडिज १२ अंक सहित १७औँ स्थानमा छ ।

यसैगरी अर्को खेलमा स्पान्योलसँग १–० गोलले पराजित भएपछि रियल सोसिडाड तेस्रो स्थानमा झरेको छ । सोसिडाडको १५ खेलबाट २९ अंक छ । जितसँगै नवौं स्थानमा उक्लिएको स्पान्योलको २० अंक छ । अर्को खेलमा रियल बेटिसले लिभान्तेलाई ३–१ गोलले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया