मन्त्री भुषालद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

  मंसिर १३, २०७८

तनहुँ, मङ्सिर १३ : उर्जा, जलस्रोत, तथा सिंचाइमन्त्री पम्फा भुषालले तनहुँ जलविद्युत आयोजनाको सोमबार स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । भुषालले स्थलगत अवलोकन गरी हालसम्म आयोजनाले गरेको निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्यामलगायतको भौतिक प्रगतिको बारेमा जानकारी लिनुभएको हो ।

निरीक्षण गर्दै मन्त्री भुषालले प्रस्तावित धेरैमध्ये जल विद्युत आयोजनामध्ये कार्यान्वयनम अघि बढेको महत्वपूर्ण योजना भएको उल्लेख गर्दै स्रोतसाधन, प्रशासनिक र स्थानीय कुनै पनि कारणले ढिलो हुन नहुने बताउनुभयो । निर्धारित समय काम गर्नुपर्ने हुँदा फिल्डको काम छिटो सम्पन्न गर्न परिणाम आउने गरी काम गर्न कर्मचारी, प्राविधिकलाई निर्देशन दिनुभयो ।

केही समस्या आएमा परियोजना, राजनीतिक दल, स्थानीय वासिन्दा र मन्त्रालय मिलेर समाधान गर्नुपर्ने मन्त्री भुषालले बताउनुभयो । ‘‘यहाँको जीवनस्तर माथि उकास्न, सिंचाइ, माछापालन, पर्यटकीय स्थलको रुपमा विकास गर्न आयोजनाको ठूलो महत्व रहेको उहाँले बताउनुभयो । विनाअवरोध छिट्टोभन्दा छिटो सम्पन्न गर्न जरुरी रहेको मन्त्री भुषालले बताउनुभयो ।

रणनीतिक हिसाबले विद्युत अभाव हुने समय सुख्खायाममा विद्युत आपूर्तिका लागि आयोजना महत्वपूर्ण हुने भएकोले सरकारको तर्फबाट कुनै कमी हुन नदिने मन्त्री भुषालले प्रतिबद्धता जनाउनुभयो । मन्त्री भुषालले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, तनहुँ जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख अच्युतबाबु घिमिरेसहित प्राधिकरण उच्च अधिकारीका साथ आयोजनाको कामको जानकारी लिन आउनु भएको हो ।

आयोजना प्रगतिको बारेमा प्रबन्ध सञ्चालक श्रेष्ठ र आयोजना प्रमुख घिमिरेले जानकारी दिनुुभयो । निरीक्षणपछिको ब्रिफ्रिङ कार्यक्रममा आयोजना प्रमुख अच्युत घिमिरेले सुख्खायाममा अभाव हुने समयमा यस आयोजनाले विद्युत भरथेकको काम गर्ने बताउनुभयो । आयोजनाको जलाशय क्षेत्रमा जमिन र घना जङ्गल भएकाले वातावरणीय प्रभाव तुलनात्मक रुपमा न्यून क्षति हुने सो अवसरमा आयोजना प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

भारतबाट विद्युत आयात गर्नुपर्ने समस्या हटाउन सरकारले यस आयोजनालाई प्राथमिकता दिएको छ । ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

तनहुँमा निर्माणाधीन याे जलविद्युत आयोजना १४० मेगावाट क्षमताको छ । २०६२ सालमा पहिचान भएको र वर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्गकिलोमिटर छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहनेछ । आयोजनाको बाँधस्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडाभित्र ११ सय ६२ मिटर लामो सुरुङमार्गबाट निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विद्युतगृहमा लगेर विद्युत उत्पादन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया