स्पेनिस ला लिगामा बार्सिलोनाको सानदार जित

  मंसिर १२, २०७८

काठमाडौं, मङ्सिर १२ : स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा ३–१ गोलले हरायो ।

बार्सिलोनाको सहज जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिप कोउटिन्होले गोल गर्नभयो । भिल्लारियलका स्यामुइल चुक्वेजीले एक गोल फर्काउनुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्सिलोनाले ४८औँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो ।

डि जोङले गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ७६औँ मिनेटमा स्यामुइलले अर्नाउट डानजुमाको पासमा गोल गर्दै भिल्लारियललाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।

भिल्लारियलको बराबरी गोलपछि जोसिएको बार्सिलोनाले ८८औँ मिनेटमा पुनः अग्रता लिएको थियो । डिपाएले भिल्लारियलको रक्षकको गल्तीमा गोल गर्दै बार्सिलोनालाई अगाडि बढाउनुभयो । इन्जुरी समयमा कोउटिन्होले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनु भयो ।

भिल्लारियलका जुआन फोयथले डिबक्सभित्र फल खेलेपछि बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । ५० प्रतिशत बल पोसेसन राखे पनि भिल्लारियलले बार्सिलोनाको रक्षापङ्क्ति तोड्न सकेन ।

जितसँगै १४ खेलबाट २३ अङ्क बनाएको बार्सिलोना सातौं स्थानमा छ । पराजित भिल्लारियल १६ अङ्कसहित १२औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १३ खेलबाट ३० अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको २९ र तेस्रो स्थानमा रहेको सेभियाको २८ अङ्क छ ।

शनिबार राति नै भएको अन्य खेलमा सेल्टाभिगोले डिर्पोटिभो अलाभेसलाई २–१ गोलले पराजित गरेको छ । भ्यालेन्सिया र रायोभालेकानोले १–१ तथा मालोर्का र गेटाफेले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

तपाईको प्रतिक्रिया