अब विद्यालयलाई ‘उद्यम’ बनाउनुपर्छ : अर्थमन्त्री

  मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताउनुभएको हो ।

‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुपर्यो’, मन्त्री शर्माले भन्नुभयो, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्याे ।’ उहाँले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताउनुभयो । त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण उहाँको भनाइ छ । मन्त्री शर्माले त्यो नै समाजवादको आधार बन्ने बताउनुभयो । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उहाँको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उहाँले बताउनुभयो । ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह/समुदाय बनाउनुपर्छ ।’ त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुनेसमेत उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने बताउनुभएको छ । ‘अब मेगा विद्यालय बनाउनुपर्छ, शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक असर पार्छ ।’ शिक्षकहरूको विभिन्न मागका सम्बन्धमा शिक्षा मन्त्रालयबाट पूरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने आश्वासन दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताउनुभयो । प्रचण्डपथ त्यागेकै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको बताउनुभयो । ‘शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौँ’, उहाँले भन्नुभयो, ‘त्यो ठूलो गल्ती थियो । मैले त्यतिबेला नै यो गल्ती हुँदैछ भनेको थिएँ ।’ प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा संगठनलाई केन्द्रिकरण गरेको बताउनुहुँदै उहाँले त्यो त्याग्नासाथ पार्टीमा विभाजन भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया