प्रशंसा र सुनिरालाई स्वर्ण

  मंसिर ०८, २०७८

काठमाडौं, मङ्सिर ८ : नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को गर्ल्स डबल्समा बुधबार स्वर्ण जित्नुभएको छ । सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४, ६–३ को सोझो सेटमा हराउनुभयो । प्रशंसा र सुनिराको जोडी सर्किट–१ को पनि विजेता हुनुहुन्छ ।

उक्त स्पर्धाको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बन्नुभएको छ । सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२, ६–२ को सीधा सेटमा हराउनुभयो । सक्षमले पनि सर्किट– १ को डबल्समा स्वर्ण जित्नुभएको थियो ।

ब्वाइज सिंगल्समा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६–३, ६–१ तथा नेपालका दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१, ६–१ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा पुग्नुभएको छ ।

यसै स्पर्धाको गर्ल्समा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–३, ७–५ तथा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१, ६–० को सीधा सेटमा हराउँदै फाइनलमा पुग्नुभयो । सिंगल्सको फाइनल खेल बिहीबार हुने छ ।

तपाईको प्रतिक्रिया