हुम्लामा आलु उत्पादन घट्यो

  असोज ३१, २०७८

हुम्ला, असोज ३० : आलु खेती राम्रो हुने हिमाली जिल्ला हुम्लामा यसवर्ष उत्पादन घट्ने देखिएको छ । किसानले आलु खेती धेरै गर्न थालेको भएपनि बर्खामा पानी बढी परेको कारण आलुको उत्पादन घटेको हो ।

सिमकोट गाउँपालिका–५ की बाँचु रोकायाले जग्गाबाट निकाल्दै गर्दा आलु कम आउने गरेको बताउनुभयो । उहाँले गतवर्ष त्यही जग्गामा लगाएको आलुको दाँजोमा यसवर्ष चालीस प्रतिशतसम्म कम आउने गरेको बताउनुभयो । उहाँले गतवर्ष दश बोरा आलु भएको जग्गामा यसपाली छ, बोरामा सिमित भएको बताउनुभयो । हुम्लामा उत्पादन भएको आलु निकाल्ने समय सुरु भएको छ ।

सिमकोट–३ की अर्की स्थानीय उपाल लामाले आलु उत्पादन घटेको बताउनुभयो । गोडमेल राम्रै गरेको र आलु उम्रदा राम्रै लागेको भएपनि उत्पादन कम भएको किसानको गुनासो रहेको छ । चार रोपनी जग्गामा आलु लगाउनु भएकी लामाले गगवर्ष भन्दा आलु राम्रो नफल्दा आम्दानी घट्ने बताउनुभयो ।

कृषि विकास कार्यालयमा प्रमुख बखत खड्काले बर्खामा पानी धेरै परेको कारण आलु उत्पादन कम भएको बताउनुभयो । उहाँले जग्गाबाट खन्दा आलु कम आउने गरेपछि किसान गुनासो लिएर कार्यालयमा आउने गरेको बताउँदै आलुका लागि आबश्यकता भन्दा बढी पानी परेको कारण कम फलेको बताउनुभयो । जिल्ला भरि आलु खेती हुने र सबै गाउँपालिकाबाट आलु कम फलेको गुनासो कार्यालयमा आउने गरेको छ । उहाँले जिल्लामा सेतो र कोडिनल जातका आलु उत्पादन हुने गरेको बताउँदै किसानले आलु लगाउदा पानी तैरने किसिमले खेती नगर्दा समस्या देखिएको बताउनुभयो ।

हुम्लामा केही किसानले ड्याङ बनाएर आलु लगाउने गरेको भएपनि अधिकाँसले परम्परागत रुपमै आलु खेती गर्दै आउनु भएको छ । यसबाट पानी तैरन नपाएर जमिनमै छिर्ने गर्छ । कार्यालयले तीसदेखि चालीस प्रतिशत आलु उत्पादनमा कमी आउने अनुमान गरेको छ । हुम्लामा आलु ८९ हेक्टर जमिनमा आलु खेती हुने गरेको छ ।

तपाईको प्रतिक्रिया