यातायात व्यवसायीको मनपरी, यात्रुबाट तेब्बर भाडा असुल्दै

  असोज २७, २०७८

दार्चुला, असोज २७ : चाडपर्वको मौका छोपेर दार्चुलाका विभिन्न सडकखण्डमा चल्ने सवारीसाधनले मनपरी भाडा असुलिरहेका छन् । चाडपर्वका बेला यात्रुहरु घर पुग्नैपर्ने बाध्यताबीच व्यवसायीहरुले मनपरी भाडा असुलेको यात्रुहरुको गुनासो छ ।

गोकुलेश्वर–लटिनाथ, दार्चुला–दुहुँ, खलंगा–नौगाड, गोकुलेश्वर–रिठाचौपाता लगायत जिल्लाका आधादर्जन खडकखण्डमा तेब्बर भाडा असुली गरिरहेको यात्रुहरुको गुनासो छ । चाडपर्वकाबेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भएपनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएको दुहुँका स्थानीय प्रेमबल्लभ जोशीले बताउनुभयो ।

जोशीले भन्नुभयो, “दुहुँ क्षेत्रको लास्कुदेखि चल्लेगाडा रुटका सबै गाडीहरुले तेब्बर भाडा असुली रहेका छन् । केही दिन पहिलेसम्म तीनसय भाडा रहेकोमा अहिले एक हजारसम्म भाडा लिइरहेको उहाँले बताउनुभयो ।

एक पटकमा पाँच हजार असुली नहुँदासम्म यातायात व्यवसायीले गाडी नै नचलाउने गरेको उहाँले गुनासो सुनाउनुभयो । स्थानीय प्रहरी प्रशासन र सडक कार्यालयको चरम लापरवाहीका कारण गरीब जनताले गाडी चढ्न नपाएको स्थानीयको गुनासो छ । चाडपर्वकाबेला अधिकांशं सवारीसाधनको चेकजाँच गरिएको छैन् ।

ग्रामीण क्षेत्रमा चल्ने साना जिप र बोलेरो लगायत सवारीले निर्धारितभन्दा तेब्बर बढीसम्म भाडा लिइरहेको गुनासो छ । व्यवसायीले दोब्बर तेब्बर भाडा मागेर आफूहरूलाई टिकटसमेत नदिएको यात्रु मुकेश धामीले बताउनुभयो । दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ । तर, चाडपर्वकाबेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेको गुनासो उहाँले गर्नुभयो ।

रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको नौगाडका स्थानीय प्रकाश ठगुन्नाले बताउनुभयो । दशैंमा बजारक्षेत्रमा रोजगारी, व्यवसाय, काम र पढाइले बसेका मानिसहरु घर फर्किएपछि बजार सुनसान बनेका छन् । गाउँ फर्किने मानिस र सवारीको चाप बढेको छ । सीट क्षमताभन्दा बढी यात्रु हाल्दा दुर्घटनाको जोखीम पनि बढेको उहाँले बताउनुभयो ।

बढी भाडा असुली भइरहेको विषयमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक माधव विश्वकर्मालाई बुझ्दा बढी भाडा असुलेको गुनासो कतैबाट नआएको बताउनुभयो । गुनासो आएमा कारवाही गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यात्रुहरुको सहजताका लागि महाकाली लोकमार्गको विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर समेत प्रहरीले निगरानी गरिरहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया