आगलागीबाट दुई घर र दुई फार्म जले

  बैशाख १८, २०८१

बरहथवा (सर्लाही), १८ वैशाख : जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो ।

आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र दुईवटा फार्म घर जलेका छन् । भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरापालन गरेको दुईवटा फार्ममा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन् । घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित रु ११ लाख बराबरको क्षति भएको हो ।

यसैगरी, गए राति नै कविलासी नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ । आगलागीबाट सोही स्थानका वासुदेव महतोको गोठघर नष्ट भएको छ । आगलागीबाट रु दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।

तपाईको प्रतिक्रिया