खप्तडमा छायाङ्कन भएको म्यूजिक भिडियोको रिलिज

  असोज १७, २०७८

धनगढी, असोज १७ : भर्जिन ल्याण्डकारुपमा परिचित सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र खप्तडमा छायाङ्कन भएको “जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ” म्यूजिक भिडियोको रिलिज भएको छ ।

एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो भिडियोमा मोडेल पल शाह र गरीमा शर्माले अभिनय गर्नुभएको छ । सो भिडियो आइतबार युट्बमार्फत् सार्वजनिक गरिएको हो । राजकुमार र राजकुमारीको प्रेमलीला हेर्न मिल्ने सो भिडियोमा मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ ।

सो गीतमा गिरी र डा. त्रिशला गुरुङको स्वर रहेको छ । गीतको शव्द र सङ्गीत पनि गायक गिरीकै रहेको छ भने भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका छन् । खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन उद्धेश्यले समेत सो क्षेत्रलाई प्राथमिकता दिइएको हो ।

खप्तड पुग्न निक्कै कठिन छ तर हामीले निर्माण गरेको म्युजिक भिडियो हेरेपछि गएकालाई थकाई र दुःख विर्साउने छ भने नगएकालाई खप्तड जाउजाउ भन्ने लाग्ने छ सुटिङबाट फर्किएपछि मोडेल पल शाहले प्रतिक्रिया दिनुभयो । दश दिन लगाएर सुटिङ गरिएको सो गीतको छायाङ्कनमा १५ लाख खर्च भएको छ । गायक गिरी १२ जना काठमाडौ र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुग्नुभएको थियो ।

सुदूरपश्चिम क्षेत्रमा चर्चित देउदा गीतका सुटिङ भने धेरै भएका छन् । ३१०० देखि ३५०० मिटरसम्मको उचाइमा रहेको खप्तड प्राकृतिकरुपमा निक्कै रमणीय छ । सँधै राम्रो मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रकारुपमा पनि परिचित छ । खप्तड बाजुरा, बझाङ, डोटी र अछाम गरेर चार जिल्लाको साझा क्षेत्र समेत हो ।

तपाईको प्रतिक्रिया