बेनीमा ११ औं तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता सुरू

  असोज १६, २०७८

बेनी, असोज १५ : थकालीको समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबारदेखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समूहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् ।

खेलको उदघाटन गर्नुहुँदै प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले थकाली समुदायको पहिचानका रुपमा रहेको ताराखेललाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतियोगिताले सघाउ पुग्ने बताउनुभयो । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक तीन-तीन वर्षमा प्रतियोगिता आयोजना हुने थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो । कोरोना भाइरस संक्रमणका कारण गत वर्ष हुने खेल रोकिएर यसवर्ष भएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद एकलाख रुपियाँ र पाँचतोला सुनको गोल्डकप, शिल्ड, प्रमाणपत्र र मेडल तथा दोस्रोले पचास हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तृतीय हुनेलाई नगद २५ हजार, मेडल र प्रमाणपत्र तथा चौथो, पाँचौ हुने समूहलाई १० हजार र पाँच हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

खेललाई दिगोरुपमा सञ्चालन गर्न अक्षयकोषको स्थापना गरिएको थकाली सेवा समितिका केन्द्रीय अध्यक्ष सोम तुलाचनले बताउनुभयो । कोषमा अहिले सम्म ५१ लाख ५४ हजार रुपियाँ जम्मा भइसकेको उहाँले बताउनुभयो । प्रतियोगिताको उद्घघाटन हुनुपुर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजासहित बेनी बजार परिक्रमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया