सञ्चालनमा नआउँदै नेपाली रेलको ‘वारेन्टी’ सकियो

  असोज ०८, २०७८

जनकपुरधाम, असोज ८ : नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ । रेल एक वर्ष अघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको थियो । दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जाकारी दिनुभयो ।

नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याइ नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर राखिएको छ ।

खरिद गरेको एक वर्ष पुरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताउनुभयो । रेलको अनुगमन हुन बाँकी छ, बाहिरबाट हेर्दा ठिकै देखिन्छ भन्दै महाप्रबन्धक झाले थप्नुभयो, ‘कानुन अभावमा रेल सञ्चालन हुन सकेको छैन । कानुन आएपछि प्राविधिक टोलीलाई बोलाई रेल सञ्चालनमा ल्याइने छ ।

किनिएको दुवै सेट रेलको गत वर्ष नै ट्रायल गरिए पनि सञ्चालनमा आउन भने अझै समय लाग्ने झाले बताउनुभयो । खुला आकाशमा पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको र खियासमेत लाग्न थालेको स्थानिय बताउँछन् । वारेन्टी अवधिमा इन्जिन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आएमा निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ । परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नुपर्ने, मोबिल फेर्नु पर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु निर्माण कम्पनीको भनाई छ ।

तपाईको प्रतिक्रिया