बाढीले बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

  भदौ २१, २०७८

काभ्रे, भदौ २१ : पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । आइतबार रातीदेखिको अविरल वर्षाका कारण अरनिको राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले पुण्यमाता खोलामा आएको बाढीका कारण पुलबजार क्षेत्र डुबानमा परेको जानकारी दिनुभयो । उहाँले पुलबजार क्षेत्र डुबानमा परेपछि अरिनको राजमार्ग भएर सञ्चालन हुने यातायातको साधन आवतजावत बन्द रहेको जानकारी दिनुभयो ।

बनेपा पुल बजार, गोदामचोक, श्रीखण्डपुर, इलाका प्रहरी कार्यालय बनेपा वरपर समेत डुबान परेकाले जनजीवन प्रभावित भएको छ । बनेपा पनौती मार्गको धनेश्वरमा पुण्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेको छ ।

बाढीका कारण केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया