रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउनुभयो

  भदौ १७, २०७८

काठमाडौं, भदौ १७ : पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनुभएको छ । उहाँले गए राति सम्पन्न विश्वकप फुटबल छनोटमा अन्तर्राष्ट्रिय फुटबलमा ११० औं र १११ औं गोल पूरा गर्दै उक्त कीर्तिमान बनाउनुभएको छ ।

विश्वकप फुटबल छनोट अन्तर्गत गए राति सम्पन्न खेलमा पोर्चुगलले आयरल्याण्डलाई २–१ ले हराउँदै पोर्चुगलको दुबै गोल रोनाल्डोले गर्नुभयो । ३६ वर्षीय रोनाल्डोले दुबै गोल हेडरमार्फत् गर्नुभयो । यसअघि इरानका फुटबलर अलि डिआएले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउनुभएको थियो ।

उहाँले सन् १९९३ देखि २००६ सम्म इरानका लागि १०९ गोल गर्नुभएको छ । पोर्चुगिज स्ट्राइकर रोनाल्डोले भने यूरो २०२० मा फ्रान्सविरुद्ध गोल गरेर अलि डिआएको गोलको बराबरी गर्नुभएको थियो ।

म्यान्चेष्टर यूनाइटेडका फरवार्ड रोनाल्डोले स्पेनिस फुटबलर सर्जियो रामोसको यूरोपेली फुटबलमा सर्वाधिक खेलमा प्रतिनिधित्व गर्ने कीर्तिमानको समेत बराबरी गर्नुभएको छ । रामोसले स्पेनको प्रतिनिधित्व गरी १८० खेलमा सहभागी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया