दक्षिण अफ्रिकी तीब्र गतिका बलर डेल स्टैनद्वारा सन्यासको घोषणा

  भदौ १६, २०७८

काठमाडौं, भदौ १५ : दक्षिण अफ्रिकी तीब्र गतिका बलर डेल स्टैनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सन् २०१९ मा टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएका स्टैनले मङ्गलबार क्रिकेटको सबै स्वरुपबाट सन्यास लिएको बताउनुभएको छ ।

उहाँले पछिल्लो पटक सन् २०२० को फेब्रुअरी महिनामा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको थियो । अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा अष्ट्रेलिया बिरुद्ध दक्षिण अफ्रिकी जर्सीमा उहाँले आफ्नो अन्तिम खेल खेल्नुभयो । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “आज, मैले सबैभन्दा बढी मन पराउने क्रिकेटबाट आधिकारिक रुपमा सन्यास लिएको छु ।”

३८ वर्षीय डेल स्टैनले अब्राहम डिभिलियर्ससँगै सन् २००४ मा इंग्ल्याण्ड बिरुद्ध खेलेर अन्तर्राष्ट्रिय क्रिकेट पाइला राख्नुभएको थियो । ९३ टेष्ट क्रिकेटमा उहाँले ४३९ विकेट लिनुभएको छ । १२५ अन्तर्राष्ट्रिय एकदिबसीयमा उहाँले १९६ विकेट लिनुभएको छ भने ४७ अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उहाँले ४७ खेलमा ६४ विकेट लिनुभएको छ । टेष्ट क्रिकेटको एकै खेलमा उहाँले २७ पटक चार विकेट र २६ पटक पाँच विकेट तथा पाँच पटक दश विकेट लिनुभएको छ ।

तपाईको प्रतिक्रिया