क्यूआर कोडसहितको खोप कार्ड वितरण शुरु

  साउन २१, २०७८

कठमाडौं, साउन २१ : विदेश जानेहरुका लागि आवश्यक क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आज (विहीबार) बिहान १० बजेबाट कार्ड वितरण शुरु गरिएको केन्द्रका प्रवक्ता डा.जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

विदेश जानेहरुका लागि प्राथमिकताका आधारमा कार्ड वितरण गरिने र दैनिक एक हजार जनलाई यस्तो कार्ड वितरण हुने उहाँले बताउनुभयो । यस्तो विद्युतीय कार्ड प्राप्त गर्नका लागि खोप लगाएको सक्कल कार्ड, राहदानीको फोटो कपी र पासपोर्ट साइजको फोटो बुझाउनु पर्ने हुन्छ ।साथै यसका लागि अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ । सरकारले अहिले आयुर्वेद अस्पताल कीर्तिपुरबाट यो सेवा शुरु गरेको र विस्तारै अन्य जिल्लामा पनि शुरु गर्ने बताइएको छ । यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिनुभएको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो । कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड दिनु भएको थियो।

तपाईको प्रतिक्रिया