आईपीएल सुचारु हुँदा इंग्ल्याण्डका खेलाडी सहभागी हुने

  साउन १९, २०७८

काठमाडौं, साउन १९ : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले इन्डियन प्रिमियर लिग(आईपीएल) सुचारु हुँदा इंग्ल्याण्डका खेलाडी सहभागी हुने पुष्टि गरेको छ । प्रिमियर लिगको अबरुद्ध भएको संस्करण आगामी सेप्टेम्बर १९ देखि यूएईमा सुचारु हुनेछ ।

इंग्ल्याण्ड र बङ्गलादेशबीचको क्रिकेट शृङ्खला स्थगित हुन पुग्दा इंग्ल्याण्डका खेलाडीलाई टी ट्वान्टी क्रिकेट विश्वकप प्रतियोगिताको तयारी स्वरुप आईपीएलमा सहभागी हुने ढोका खुलेको हो । बीसीसीआईका अधिकारीले एएनआईसँगको कुराकानीमा इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डबाट खेलाडीको सहभागिता सम्बन्धमा हरियो सङ्केत पाएको बताउनुभएको छ ।

आईपीएलकै बेला इंग्ल्याण्डले बङ्गलादेश विरुद्ध तीन अन्तर्राष्ट्रिय एकदिवसीय र तीन टी ट्वान्टी खेल्ने कार्यक्रम थियो । तर बङ्गलादेश क्रिकेट बोर्डले इंग्ल्याण्डको उक्त भ्रमण टी ट्वान्टी विश्वकप पछि सार्न सहमत भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया