जापानमा २४ घण्टामा आठ हजारभन्दा बढी सङ्क्रमित थपिए

  साउन १८, २०७८

काठमाडौं, साउन १८ : जापानले सोमबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ हजार ३९३ पुगेको जनाएको छ । अघिल्ला हप्तामा सोही दिन सङ्क्रमण पुष्टि भएको सङ्ख्याको झन्डै दोब्बर हो ।

ओलम्पिक आयोजना भइरहेको टोकियो र वरिपरि संक्रमण बढ्दै गइरहेका छन् । टोकियोमा लगातार पाँच दिनसम्म तीन हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका छन् । सोमबार टोकियोमा दुई हजार १९५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । राजधानी वरपरका प्रिफेक्चरहरू कनगावा, चिबा र साइतामा क्रमशः एक हजार ६८६, ७८७ र ७६२ सङ्क्रमित भेटिएका छन् । टोकियोमा पछिल्लो समय सङ्क्रमितमध्ये अधिकांश २०–३० वर्षका मानिसहरू रहेका पनि बताइएको छ ।

जापानको प्रधानमन्त्री कार्यालयका अनुसार ५० करोडभन्दा बढी अर्थात् जापानको करिब ४० प्रतिशत जनसंख्याले कोभिड–१९ खोपको कम्तीमा एक मात्रा लिएका छन् । जुलाई १२ मा टोकियो महामारीका कारण चौथो पटक सङ्कटकालीन अवस्थामा प्रवेश गरेको थियो । टोकियोको शहरका क्षेत्रहरूमा पैदल यात्रुहरूको चाप अलिकति कम भए तापनि कोभिड–१९ को अत्यधिक सङ्क्रामक डेल्टा फैलिएपछि सङ्क्रमण सङ्ख्यामा व्यापक वृद्धि भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया