छाडा चौपायाले बाघ संरक्षणमा चुनौती थपिँदै

  साउन १७, २०७८

धनगढी, साउन १७ : सुदूरपश्चिम प्रदेशमा छाडा चौपायाका कारण बाघ संरक्षणमा चुनौती थपिएको छ । छाडा चौपायाले गर्दा अप्रत्यक्ष रुपमा बाघमा असर पर्ने गरेकाले संरक्षणमा चुनौती थपिएको हो ।

छाडा चौपायाका कारण बाघको प्रजनन र आहारा प्रजातिमा असर पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । प्रदेशमा एकमात्र बाघ संरक्षित क्षेत्र शुक्लाफाँटा हो । यो निकुञ्जमा हाल १६ वटा बाघ छन् ।

तर, छाडा चौपाया समस्याले गर्दा बाघ जगेर्नामा थप चुनौती बढेको निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनुभयो । ‘छाडा चौपायामा भएको खुरसम्बन्धी रोग आहारा प्रजातिका वन्यजन्तुमा सर्ने गरेको छ’, उहाँले भन्नुभयो । ‘खुर सम्बन्धी रोग लागेर बाघको आहारा प्रजाति घटिरहेका छन् ।’

बाघ वृद्धिका लागि पर्याप्त मात्रामा आहारा चित्तल, बँदेल, हरिन जस्ता आहारा प्रजाति आवश्यक पर्ने गरेको छ । कहिलेकाँही बाघले चौपाया नै मारेर खाने गरेका छन् । चौपायालाई पेनकिलरको लागि दिइएको विषादीले पनि बाघलाई असर गर्ने गरेको चौधरीले बताउनुभयो ।

उहाँले विषादी दिइएको पशुचौपाया मारेर खाएमा बाघको प्रजननमा नै असर पर्ने गरेको उल्लेख गर्नुभयो । ‘त्यसैले छाडा चौपाया बाघ संरक्षणमा ठूलै चुनौती बन्दैछ’, चौधरीले भन्नुभयो ।

छाडा चौपायाको लागि प्रदेशको कञ्चनपुर र कैलाली ‘हब’ जस्तै छ । छाडा चौपाया समस्याले यहाँ विकराल रुप लिइरहेको छ । हजारौंको सङ्ख्यामा छाडा चौपाया वन, सडक क्षेत्रमा बस्ने गरेका छन् । वनक्षेत्र अतिक्रमण, चोरीसिकार जस्ता कारणले पनि बाघ संरक्षणमा बाधा पुगेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको बाघ सङ्ख्या सन्तोषजनक रहेको निकुञ्ज कार्यालयले ठहर गर्दै आएपनि पहिलेको तुलनामा सङ्ख्या घट्दै गएको छ । सन १९९५ मा अनुगमन गर्दा यो निकुञ्जमा बाघ सङ्ख्या १६ थियो । त्यसपछि सन २००२ मा अनुगमन गर्दा २६ बाघ अभिलेख गरिएको थियो । सन २००५ मा १८, सन २०१३ मा १७ र २०१८ को गणनामा १६ बाघ रहेका फेला परे ।

सुरुवाती दुई पटकको अनुगमनको क्रममा बाघका पाइलाको छाप, बसोबास गर्ने ठाउँ, आँखाले देखिएका बाघलगायतका आधारमा सङ्ख्या निर्धारण गरिएको थियो । तर, पछिल्लो दुई वर्ष गणनाको क्रममा भने क्यामरा ट्रयापमा परेका बाघको वैज्ञानिक तरिकाले अध्ययन गरेर सङ्ख्या निर्धारण गरिएको थियो ।

सुरुवातको गणनाभन्दा बाघको पछिल्लो गणना वैज्ञानिक रहेका कारण पछिल्लो सङ्ख्या विश्वसनीय रहेको सहायक संरक्षण अधिकृत चौधरीले बताउनुभयो । ३०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भारतको दुधुवा नेशनल पार्क नजिकै पर्ने गरेकाले वन्यजन्तुको ओहोरदोहोर भइरहने गरेको छ ।

यसैबीच, मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउनका लागि निकुञ्ज कार्यालयले विभिन्न वैकल्पिक स्रोत साधन सहयोग गर्दै आएको छ । दाउराको प्रयोग हटाउनका लागि ग्यास वितरण गर्ने र बाख्राका लागि हरेक वर्ष ७० देखि ८० वटा सुरक्षित खोर पनि दिइने गरेको चौधरीले बताउनुभयो । यसैगरी, पीडित व्यक्तिहरुलाई मानव वन्यजन्तु राहत निर्देशिका अनुसार राहत वितरण गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया