‘द् हण्ड्रेड’ खेल्न सन्दीप बेलायत पुगे

  असार २५, २०७८

काठमाडौं, असार २५ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने ‘द हण्ड्रेड’ खेल्न बेलायत पुग्नुभएको छ । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतका लागि प्रस्थान गर्नुभएको सन्दीप अपरान्ह लण्डन पुग्नुभएको छ ।

नेपाल क्रिकेट संघका प्राबिधिक विश्लेषक समेत रहनुभएका सन्दीपका ब्यवस्थापक रमन शिवाकोटीले आज अपरान्ह सन्दीप लण्डन पुगेको जानकारी दिनुभएको छ । इंग्ल्याण्ड क्रिकेट बोर्ड(ईसीबी)को आयोजनामा क्रिकेटको ‘द हण्ड्रेड’ स्वरुपको उद्घाटन खेल जुलाई २१ मा हुनेछ । सन्दीप लामिछाने ‘द हण्ड्रेड’मा ओभल इन्भिसिबलको प्रतिनिधित्व गर्नुभएको छ ।

ओभल इन्भिसिबल पहिलो खेलमा म्यान्चेष्टर ओरिजिनलको सामना गर्नेछ । सन्दीप आबद्ध ओभल इन्भिसिबलमा अलराउन्डर साम कर्रन, जैसन रोय, साम बिलिंग्स, एलेक्स ब्लैक, रोरी बनर्स, टम कर्रन, लौरी इभान्स, विल ज्याक्स, सुनिल नारैन, नाथन साटर र रीस टप्ले हुनुहुन्छ ।

प्रतियोगितामा कुल आठ टोलि सहभागी हुनेछ । ओभल इन्भिसिबल, म्यान्चेष्टर ओरिजिनल, नर्थन सुपरचार्जेज, ट्रेन्ट रकेट्स, बिर्मिघंम फोनिक्स, लण्डन स्पिरिट, साउर्थन ब्रेभ र वेल्स फायर गरी आठ टोलिले द हण्ड्रेडमा स्पर्धा गर्नेछ ।

द हण्ड्रेडले जारी गरेको खेल तालिका बमोजिम जुलाइ २१ मा महिला टोलिको उद्घाटन खेल हुनेछ । पहिलो खेल ओभल इन्भिसिबल र म्यान्चेष्टर ओरिजिनलबीच ओभल क्रिकेट ग्राउन्डमा खेलाइनेछ । उक्त खेल महिला टोलिको हुनेछ । प्रतियोगिता सुरु भएको दोस्रो दिनमा ओभल इन्भिसिबल र म्यान्चेष्टर ओरिजिनलको पुरुष टोलि स्पर्धा गर्नेछ ।

द हण्ड्रेड क्रिकेट लिगको प्रत्येक खेल एक सय बलको हुनेछ । जसमा लिग चरणमा प्रत्येक टोलिले आठ खेल खेल्नेछ । प्रतियोगिता अबधि भरि कुल ३५ खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अगष्ट २१ मा खेलाइनेछ । द हण्ड्रेडको पहिलो संस्करण सन् २०२० मै हुने भनिएपनि कोभिड १९ को कारणले स्थगित हुन पुगेको थियो ।

तपाईको प्रतिक्रिया