चेक रिपब्लिक स्तब्ध, डेनमार्क सेमिफाइनलमा पुग्यो

  असार २०, २०७८

काठमाडौं, असार २० : डेनमार्कले युरोकप फुटबल २०२० को सेमिफाइनलमा इंग्ल्याण्डको सामना गर्ने भएको छ । डेनमार्कले क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २–१ ले हराएर सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो । सन् १९९२ पछि डेनमार्क पहिलो पटक युरोकप फुटबलको सेमीफाइनलसम्मको यात्रा सुनिश्चित गरेको छ ।

बाकूमा गए राति अबेर सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा डेनमार्कले चेक रिपब्लिकमाथि जित हात पारेको हो । यूरो कप फुटबलको पहिलो खेलमै मीडफिल्डर क्रिश्चियन एरिक्सन हृदयघात भएर मैदानमै लडेपछि भावुक बनेको डेनमार्कले त्यसयता लगातार सुधारिएको प्रदर्शन गर्दै आएको छ । उक्त घटनापछि खेल प्रशंसकको उत्कृष्ट समर्थन पाएको डेनमार्कले क्वार्टरफाइनलमा वेल्सलाई हराएको थियो ।

चेक रिपब्लिकको सामना गर्दा खेलको सुरुवातमै डेनमार्कले थोमस डेलानेको गोलबाट अग्रता कायम गर्यो । पाँचौं मिनेटमा कर्नरबाट आएको बललाई डेलानेले गोलको दिशा दिदै डेनमार्कलाई १–० को अग्रता दिलाउनुभयो । हाफटाइम सकिन लाग्दा कास्पर डोलबर्गले जोकेम महेलको कर्नर क्रसलाई गोलमा परिणत गर्दा डेनमार्कले अग्रतालाई दोब्बर पार्यो ।

४९ औं मिनेटमा पेट्रिक सिकले प्रतियोगितामा आफ्नो पाँचौं गोल पुरा गर्दा चेक रिपब्लिकले खेलमा पुनरागमन गर्दै २–१ को स्थितिमा ल्याउनुभयो । पेट्रिक युरोकप फुटबल २०२० मा सर्वाधिक गोलकर्ताको सूचीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोसँगै पाँच गोल गरेर शीर्ष सथानमा उक्लिनुभएको छ । डेनमार्कले चेक रिपब्लिकमाथि जितसँगै सेमिफाइनलको यात्रा मात्रै तय गरेन बरु सन् २००४ मा क्वार्टरफाइनलमा बेहोरेको हारको बदला लिन सफल भयो ।

तपाईको प्रतिक्रिया