जर्मनीका मीडफिल्डर टोनी क्रूज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

  असार २०, २०७८

काठमाडौं, असार २० : जर्मनी यूरो कप फुटबल २०२० बाट बाहिरिएपछि टोनी क्रूज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । जर्मनीले यूरो कप फुटबलको अन्तिम १६ को खेलमा इंग्ल्याण्ड बिरुद्ध २–० को हार बेहोर्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

रियल मड्रिडका मीडफिल्डर ३१ वर्षीय क्रूजले जर्मनीको हारपछि सन्यासको घोषणा गर्नुभएको हो । सन् २०१० मा क्रूजले पहिलो पटक जर्मनीका लागि खेल्नुभएको थियो । जर्मनीले सन् २०१४ को विश्वकप फुटबल उचाल्दा क्रूज उक्त टोलिका सदस्य हुनुहुन्थ्यो ।

सन् २०१० मा जर्मनीले विश्वकप फुटबलमा तेस्रो स्थानमा चित्त बुझाउँदा समेत क्रूज टोलिका सदस्य हुनुहुन्थ्यो । सन् २०१२ को यूरो कप फुटबलमा जर्मनी सेमीफाइनलसम्म पुगेको थियो । उहाँले जर्मनीका लागि १७ गोल गर्नुभएको छ भने १९ गोलका लागि सघाउनुभएको छ ।

“मैले जर्मनीका लागि १०६ पटक खेलें, तर अब अर्को पटक खेल्ने छैन्,” उहाँले आफ्नो ट्वीटर खातामा लेख्नुभएको छ । क्रूजले आफू अब क्लब फुटबलमा केन्द्रित रहने बताउनुभएको छ । सन् २००७ मा जर्मनीको बेर्यान म्युनिकबाट क्लब फुटबलको सुरुवात गर्नुभएका क्रूजले २०० क्लब फुटबल खेलेपछि सन् २०१४ मा रियल मड्रिड सर्नुभयो ।

तपाईको प्रतिक्रिया