खतराको तहमा बागमती र बकैया, अधिकांश स्थान जलमग्न

  असार १९, २०७८

रौतहट, असार १९ : शुक्रबार रातिदेखिको मुसलधारे पानीले बकैया र बागमती नदीमा पानीको सतह उच्च भई वस्तीमा बाढी पस्ने खतरा रहेको हुँदा नदी आसपासका नागरिकलाइ सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बागमती नदीमा शनिबार बिहान पानीको तह ७२० मिलिलिटर रहेको छ । यो उच्च जोखिमको तह भएकाले बागमतीमा रहेको सिँचाइ आयोजनाको ३० वटै ढोका खोलिएको छ । पूर्वी र पश्चिम नहरको मुख्य ढोकाहरु बन्द भने बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अघिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । नहरको मुख्य ढोका खोलिँदा खेतीयोग्य जमिनमा अत्याधिक क्षेती हुने भएकोले नखोलिएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार लाल बकैया नदीमा मा पनि पानी को सतह ५ फिट भन्दामाथि रहेको छ । लालबकैया, चादी, झांझ नदीहरुमा पानीको सतह बढिरहेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यसैबीच, राजदेवी नगरपालिकास्थित बागमती नदी किनारको स्परमा क्षेती पुगेकाले राति नै सुरक्षाकर्मीले स्पर मर्मत गरी बस्ती डुबान हुनबाट जोगाएको प्रजिअ यादवले जानकारी दिएका छन ।

रौतहटको अधिकांश स्थान जलमग्न, तीन घरमा क्षति
रौतहट, केही दिनदेखीको अविरल वर्षाले रौतहटको अधिकांश स्थान जलमग्न हुँदा आवत जावतमा समस्या छ । जिल्लाका मुख्य व्यापारीक केन्द्र चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, सदरमुकाम गौर जलमग्न हुँदा अन्तरजिल्ला आवतजावतमा समस्या भएको हो ।

पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर २ खण्ड स्थित कजवेमा बाढी आउँदा सवारीसाधन सञ्चालनमा समस्या भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

उक्त स्थानमा सवारी साधन र सर्वसाधारणलाई आरपार गराउन २४ घण्टा प्रहरी परिचालन गरिएको डिएसपी लामिछानेले बताउनुभयो । उता, सदरमुकाम गौर जाने चन्द्रनिगाहपुर–गौर सडकको सवगढवामा रहेको कजवेमा समेत बाढी पसेको कारण अवरुद्ध बनेको सडक आरपार गराउन प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

यसैबीच, अविरल वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा गरी तीन घरमा क्षती पुगेको छ । जिल्लाको दुर्गा भगवती गाँउपालिका–५ गढैयाका संजीवकुमार गिरीको घरमा बाढी पस्दा एक लाख, राजपुर नगरपालिका–२ बलुवाका शेखअबु मोहम्मदको घरमा बाढी पस्दा दुई लाख र यमुनामाई गाँउपालिका–२ भेडीयाहीका आनन्दी ठाकुरको घरमा बाढी पस्दा तीन लाख रुपियाँ बजारबरको क्षती भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

जंगली हात्ती गाँउ प्रवेश, एक घर भत्कायो
वर्षाको त्राससँगै रौतहटमा जंगली हात्तीको समेत त्रास बढेको छ । हात्तीले शुक्रबार राति जिल्लाको गरुडा नगरपालिका महादेवस्थानका रामबलास बैठाको घर भत्काएको छ । शनिबार विहान भने माधवनाराण नगरपालिका गाउँ प्रवेश गरेको स्थानीय जयराज गुप्ताले जानकारी दिनुभयो ।

हात्ती गाँउमा घुमिरहेको जानकारी प्राप्त हुनासाथ चितवन र बाराको निकुञ्जबाट हात्ती नियन्त्रण टोली बोलाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनुभयो । हात्ती नियन्त्रणमा लिन वन कर्मचारी र नेपाली सेनाको वन्यजन्तु नियन्त्रण (रेस्क्यु)टोली नपुगुञ्जेल स्थानीयलाई सतर्क रहन उहाँको आग्रह छ ।

तपाईको प्रतिक्रिया