स्पेनले स्वीटजरल्याण्डको र बेल्जियमले इटालीको सामना गर्दै

  असार १८, २०७८

काठमाडौं, असार १८ : युरोकप फुटबलको क्वार्टरफाइनलमा आज स्पेनले स्वीटजरल्याण्डको तथा बेल्जियमले इटालीको सामना गर्दैछ । अन्तिम १६ मा फ्रान्सलाई हराउँदै खेल प्रशंसकलाई स्तब्ध बनाएको स्वीटजरल्याण्डलाई रोक्न स्पेनका लागि कठिन कार्य हुनेछ ।

बेल्जियमले भने युरोकप फुटबलको साबिक विजेता पोर्चुगललाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको छ । इटालीको अपराजित यात्रा कायमै रहँदा र बेल्जियम उत्कृष्ट लयमा भएकोले दुबैबीचको खेल प्रशंसकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

युरोकप फुटबलमा स्पेन र स्वीटजरल्याण्डको यो पहिलो भेट हुनेछ । यसअघि दुबै टोली विश्वकप फुटबलमा तीन पटक एक अर्काको सामना गरेको छ । सन् १९६६, १९९४ र २०१० को विश्वकप फुटबलमा दुई टोलीबीच स्पर्धा भएको थियो ।

स्पेनले विगतमा दुई पटक हराए पनि सन् २०१० को विश्वकप फुटबलमा स्वीटजरल्याण्डले स्पेनलाई स्तब्ध बनायो । हालसम्म भएको सबै खेलमा स्पेन र स्वीटजरल्याण्डबीच २२ पटक भेट भएको छ । जसमध्ये स्पेनले १६ मा जित र पाँच हार बेहोरेको छ ।

स्वीटजरल्याण्ड युरोकप र विश्वकप फुटबलमा क्वार्टरफाइनलसम्म पुगेको यो चौथो अवसर हो । र युरोकप फुटबलको क्वार्टरफाइनलसम्म पुगेको भने यो पहिलो अबसर हो । विश्वकप फुटबलमा तीन पटक क्वार्टरफाइनलसम्म पुगे पनि स्वीटजरल्याण्डले सेमिफाइनलको यात्रा तय गर्न सकेको छैन ।

खेलको पूर्वसन्ध्यामा स्वीटजरल्याण्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिकले एक चरण अगाडि बढ्ने भोक रहेको प्रतिक्रिया दिनुभएको छ । विश्वकप फुटबलको क्वार्टरफाइनलमा उसले सन् १९३४ मा चेकोस्लोभाकिया, सन् १९३८ मा हँगेरी र सन् १९५४ मा अष्ट्रिया विरुद्ध हार बेहोरेको छ ।

स्वीटजरल्याण्डले युरोपेली च्याम्पियनशीपको पछिल्लो दुई खेलमा तीन तीन गोल गरेको छ । यसअघिको १५ प्रमुख कुनै पनि प्रतियोगितामा उसले दुई गोलभन्दा बढी गर्न सकेको थिएन ।

स्वीटजरल्याण्डको युरोकप फुटबलको यात्रामा क्वार्टरफाइनलसम्म पुर्याउन हेरिस सेफेरोभिकले महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँले पछिल्लो दुई खेलमा तीन गोल गर्नुभएको छ । त्यसअघिको १३ खेलमा उहाँले एक गोल मात्रै गर्नुभएको थियो ।

यूरो कप फुटबलको इतिहासमा लगातार दुई खेलमा पाँचभन्दा बढी गोल गर्ने स्पेन पहिलो राष्ट्र बनेको छ । यसअघिको ४२ खेलमा उसले चारभन्दा बढी गोल गर्न सकेको थिएन । स्पेनका लागि फेर्रन टोरस आफ्नो नौ खेलमा सात गोल गर्नुभएको छ ।

स्वीटजरल्याण्डले अन्तिम १६ मा १२० मिनेटसम्म फ्रान्सलाई ३–३ को बराबरीमा रोकेको थियो । पेनाल्टी शूटआउटमा उसले फ्रान्सलाई हराएर क्वार्टरफाइनलमा स्पेन विरुद्धको भेट तय गरेको थियो । लुइस एनरिकको स्पेनले सन् १९६४, २००८ र २०१२ मा युरोकप फुटबलको उपाधि उचालेको छ । उसले अन्तिम १६ मा क्रोएशियाको सामना गरेको थियो ।

अतिरिक्त समयमा क्रोएशियामाथि स्पेनले ५–३ को जित निकालेर क्वार्टरफाइनलमा स्वीटजरल्याण्ड विरुद्धको भेट तय गरेको हो । समूह चरणमा तीन खेलमध्ये एकमा मात्रै जित हात पारेको स्वीटजरल्याण्डले तेस्रो स्थानमा रहँदै नक आउट प्रवेश पाएको थियो ।

तपाईको प्रतिक्रिया