‘चीनले महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्छ’

  असार ०५, २०७८

चीनले कोरोना महामारीसँग लड्न नेपाललाई महत्वपूर्ण सहयोग गर्दै आएको छ। चीनले हालै नेपाललाई गरिरहेको सहयोगलाई मध्यनजर गर्दै नागरिकले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग गरेको कुराकानीको सम्पादित अंश :

गत बुधबार चिनियाँ राष्ट्रपति सी चिनफिन र नेपाली समकक्षी विद्यादेवी भण्डारीकाबीच टेलिफोन कुराकानी भएको थियो। दुई नेताहरूबीच के कुराकानी भयो ? महामारीलाई सामना गर्न दुई देशले कसरी सहयोग गरिरहेका छन् ?  

दुई नेताबीचको कुराकानीमा राष्ट्रपति सीले दुई देशबीचको सम्बन्धको महत्वमा जोड दिनुभयो। उहाँले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै चीनले कोरोना महामारीविरुद्ध लड्न नेपालका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। सीले नेपाली जनताले कोरोना भाइरसलाई पराजित गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।  

त्यस्तै राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना दिवसको एक सयौं वार्षिकोत्सबका अवसरमा बधाई व्यक्त गर्दै शक्तिशाली नेतृत्वको मातहतमा रहेर चिनियाँ कम्यिुनिस्ट पार्टीले आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो। उहाँले ‘सबैका लागि स्वास्थ्य’को माध्यमबाट विश्व समुदायलाई गोलबन्द गर्ने चिनियाँ अवधाराणाको खुलेर प्रशंसा गर्नुभयो। दुई राष्ट्र प्रमुखबीच बेल्ट एण्ड रोड परियोजनालाई अघि बढाउने, बहुपक्षीयतावादलाई मजबुत बनाउनेलगायत विविध विषयमा समझदारी भएको छ।  

गत वर्ष महामारी सुरुभएदेखि चीन र नेपालले कोरोनाविरुद्धका लडाइमा एक अर्कालाई सहयोग गर्दै आएका छन्। र परस्पर सहयोगलाई पनि अघि बढाइरहेका छन्। चिनियाँ पक्षले नेपाललाई खोपसहित अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराउँदै आएको छ। साथै महामारी रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी अनुभव पनि साटिरहेको छ। जसले नेपालमा कोरोना विरुद्धको लडाइमामा सहयोग पुगेको छ। चीन नेपालको विकास र महामारीविरुद्धको लडाइमा विश्वासिलो र विश्वसनीय साझेदारका रूपमा रहँदै आएको छ। 

दुई नेताबीचको कुराकानीले आगामी वर्षका लागि पनि दुई पक्षीय सम्बन्धको विकास र महामारी विरुद्धको सहयोगका क्षेत्रमा स्पष्ट दिशा निर्देश गरेको छ। मलाई के कुराको विश्वास छ भने दुई नेताबीचको व्यक्तिगत मार्गदर्शनले चीन–नेपाल सहयोग सम्बन्धी रणनीतिक साझदारी र विकास र समृद्धिका क्षेत्रको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने छ।

टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले १० लाख डोज खोप सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ। यो महासंकटका बेला स्वागतयोग्य कदम हो। चीनले नेपालसहितको विकासशील मुलुकहरूलाई कस्तो प्रकारको सहयोग गर्दैछ ?

गत मार्चको अन्त्यतिर चीनले नेपाललाई महामारीविरुद्ध लड्न ८ लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो। विश्वभर खोपको उच्च मागका बाबजुद राष्ट्रपति सीले व्यक्तिगत रूपमा अतिरिक्त १० लाख डोज खोप सहयोग स्वरूप दिने घोषणा गर्नुभएको छ। यो चिनियाँ राष्ट्रपतिको नेपाल र यहाँका जनताप्रतिको गहिरो भावना मात्र होइन। यहाँ चिनियाँ सरकार र त्यहाँका जनताको भावना पनि प्रकट भएको छ। यो चीन र नेपाल स्वास्थ्य समुदाय निर्माणको अभ्यास पनि हो।

 चिनियाँ दूतावासले गत जुनको सुरुवातमै कोरोनाविरुद्धको खोप उपलब्ध गराउने गरी यहाँका कुटनैतिक निकाय र स्वास्थ्यसँग सम्बन्धित निकायहरूसँग निकट रहेर काम गरिरहेको छ। यसका अतिरिक्त नेपाली पक्षले पनि चिनियाँ खोप उत्पादक कम्पनीसँग व्यवसायिक रूपमा खरिदका लागि कुराकानी गरिरहेका छन्। दूतावास र चिनियाँ सरकारका सम्बन्धित विभागहरूले यो प्रक्रियाका लागि सहयोग गरिरहेका छन्। र हामीले यसको नतिजा छिट्टै देख्ने अपेक्षा गरेका छौं।  

विश्व स्वास्थ्य संगठनका अनुसार महामारीको सामना गर्ने एक मात्र प्रभावकारी माध्यम खोप हो। तर विश्वभर खोपको अभाव छ। तर पनि राष्ट्रपति सीको नेतत्वमा चीनले विश्वभरका मुलुकहरूलाई लाखौं खोप र अन्य सामग्री सहयोग गरिरहेको छ। हाम्रो योगदानले महामारीविरुद्धको विश्वव्यापी सुरक्षा घेरा निर्माण र विश्वव्यापी रूपमा खोपको निष्पक्ष वितरण गर्न र सहयोगको आवश्यकता रहेका मुलुक तथा जनतासम्म सहायता पु¥याउन प्रेरित गरिहेको छ। हालै आयोजना भएको विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रपति सीले महामारीविरद्ध लड्न पाँच बुँदे सहयोग अवधारण निर्माण गर्नुभएको छ। 

त्यस्तै उहाँले पाँचवटा पहल कदमीलाई पनि अघि सार्नुभएको छ। जसमा चीनले आगामी ३ वर्षमा कोभिड–१९ विरुद्धको लडाइ र सामाजिक पुनःउत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग स्वरूप तीन अर्ब अमेरिकी डलर उपलब्ध गराउने छ। हालसम्म चीनले विश्वभर ३० करोड खोप आपूर्ति गरिसकेको छ। चीनले आफूले सकेसम्म अझै खोप उपलब्ध गराउने छ। चीनले आफ्नो खोप उत्पादक कम्पनीलाई विकासशील मुलुकमा खोप उत्पादनका लागि प्रविधि हस्तान्तरण गर्ने उनीहरूसँग संयुक्त रूपमा खोप उत्पादन गर्ने छ। 

चीनले आफूले भनेको कुरा गर्ने जिम्मेवार मुलुक हो। यी उपायको प्रयोगले विकासशील मुलुकलाई महामारीविरुद्ध लड्न र उनीहरूको सामाजिक आर्थिक पुनःउत्थानमा सहयोग गर्छ। र यसले स्वास्थ्य सम्बन्धी विश्व समुदाय निर्माणमा पनि शक्तिशाली भूमिका खेल्छ।

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएपछि चीनका प्रान्तिय सरकार र स्थानीय सरकारले पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन्। यो सहकार्यको नयाँ स्वरूप हो ?  

कोरोना महामारीको दोस्रो लहर सामना गर्ने क्रममा नेपालले स्वास्थ्य सामग्री आपूर्तिको अभाव सामना ग¥यो। त्यसपछि नेपालले चीनसँग सहायताका लागि आग्रह गरेको थियो। चिनियाँ सरकारले सुरुमै अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग स्वरूप प्रदान गर्‍यो। यातायात, भण्डारण र हस्तान्तरण जस्ता विभिन्न कठिनाई छिचोल्दै स्थलमार्ग र हवाई मार्गमार्फत जतिसक्दो छिटो त्यस्ता सामग्री हस्तान्तरण गरियो। चिनियाँ सरकारले ३५ सय अक्सिजन सिलिन्डर, ५० भेन्टिलेटर, ६ सय ५० अक्सिजन कन्सन्ट्रेसनसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

केन्द्र सरकारका अतिरिक्त सिजांग, सिचुवान, युनान, चिनियाँ रेडक्रस र नेपालमा रहेका चिनियाँ कम्पनीले नेपालका लागि अत्यावश्यक सामग्री संकलन गरेका थिए। यी सबै गतिविधि नेपाल–चीन वृहत् र बहुआयामिक प्रकृतिको सम्बन्धका कारण भएका हुन्। माथि उल्लेख गरिएका सहयोगले नेपालीले प्रकोपलाई पराजित गर्दै जतिसक्दो छिटो सामान्य अवस्थामा फर्किन सहयोग गर्ने विश्वास लिएको छु। चिनियाँ पक्षले उपलब्ध गराएका महामारी विरुद्ध लड्न आवश्यक सामग्री सहयोग स्वरूप र स्वेच्छाले प्रदान गरिएको हो। कतिपय मिडियामा ती सामग्री चीनबाट महंगो मूल्यमा खरिद गरिएको भन्ने कुरा पनि आए त्यस्ता समाचारमा कुनै सत्यता छैन।

महामारीका कारण बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गतका सहकार्यमा कस्तो असर प¥यो ? अहिले यसमा केही प्रगति भएको छ ?

पछिल्ला वर्षहरूमा चीन–नेपालबीचको सहयोग बिआरआइको मातहत रहेर फलदायी नतिजा प्राप्त गर्ने गरी भइरहेको छ। कनेक्टिभिटीका बारेमा कुरा गर्दा व्यापार तथा अर्थसम्बन्धी चीन र नेपाल कार्यदलको पहिलो बैठक भिडियो कन्फरेन्स मार्फत भएको थियो। र यातायात तथा पारवहन सम्बन्धी प्रोटोकल लागु भइसकेको छ। टोखा छहर सुरुङ परियोजनाको पूर्व सम्भाव्यता अध्यन पूरा भइसकको छ। भूकम्प पछिको पुनर्निर्माणका क्षेत्रमा चिनियाँ सहयोगमा निर्माण भइरहेको अरनिको राजमार्ग मर्मत परियोजनाको तेस्रो चरणको काम सुरु भइसकेको छ। चिनियाँ सहयोगमा काठमाडौं दरबार हाइस्कुलको निर्माण सम्पन्न भइसकेको छ र हस्तान्तरण पनि गरिसकिएको छ।

अहिले पनि एक हजार पाँच सय चिनियाँ कामदार र नेपालमा रहेका चिनियाँ कम्पनीमा झन्डै ६ हजार नेपाली कामदार रहेका छन्। उनीहरूले सहयोग परियोजनालाई अघि बढाउन कडा मेहनत गरिरहेका छन्। कोरोनाको दोस्रो लहर सुरु भएपछि दर्जनौं चिनियाँ कामदार र नेपाली कामदार संक्रमित भएका छन्। सरकारले लागु गरेको निषेधाज्ञाका कारण नेपाल–चीन सहयोगमा निर्माणाधिन ठूला परियोजनामा जनशक्ति र सामग्रीको अभाव भइरहेको छ। 

तर पनि बिआरआइ अन्तर्गतका दीर्घकालीन सहयोगमा महामारीले असर गर्नेछैन। हामीले परियोजनाहरूलाई पुनः निरन्तरता दिनेछौं। हामीले नेपाललाई नीतिगत र अन्य सहायता पनि गर्न चाहन्छौं। हामीलाई विश्वास छ हाम्रो संयुक्त प्रयासले दुई पक्षीय सम्बन्ध र सहयोगका विविध क्षेत्र र नेपालको आर्थिक, सामाजिक विकासलाई अघि बढाउने सन्दर्भमा फलदायी नतिजा आउने छ।

तपाईको प्रतिक्रिया