खोप लगाउन नपाउँदा औषधि बिक्रेता र औषधि उत्पादक संक्रमणको जोखिममा

  जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : जस्तोसुकै महामारी, बन्दाबन्दी वा निषेधाज्ञामा औषधि पसल (फार्मेसी) निर्वाध रूपमा सञ्चालन भइरहेका हुन्छन् । गत वर्षदेखिकै कोरोना (कोभिड–१९)को बन्दाबन्दीमा पनि औषधि उत्पादक तथा औषधि पसल निरन्तर सञ्चालन गर्नेहरूले कोरोनाविरुद्धको खोप पाउन सकेका छैनन् ।

चिकित्सक, नर्स, पारामेडिक्स, सुरक्षाकर्मी, पत्रकार फ्रन्टलाइनमा काम गर्नुपर्ने भएर अधिकांशले खोप लगाइसकेका छन् तर औषधि बिक्रेता (फर्मासिस्ट) र औषधि उत्पादकहरूले कोरोनाविरुद्धको खोप नपाउँदा जोखिम बढेको उनीहरूको गुनासो छ । कोरोनाको दोस्रो लहरमा मात्र ८० जनाभन्दा बढी औषधि व्यवसायीले कोरोना सङ्क्रमणका कारण मृत्युवरण गर्नुपरेको औषधि व्यवसायीको भनाइ छ । औषधि व्यवसायीले आफूहरूलाई पनि खोपको मात्रा लगाइदिन आग्रह गरेका छन् । अन्यथा ज्यान जोखिममा पारेर औषधि पसल सञ्चालन गर्न नसक्ने चेतावनीसमेत उनीहरूको छ ।

औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले ८० जनाभन्दा बढी औषधि व्यवसायीको कोरोनाका कारण मृत्यु भइसकेको भन्दै ठूलो जोखिम मोलेर व्यवसाय सञ्चालन गर्न असहज भएको जानकारी दिनुभयो । उहाँले सरकारले औषधि व्यवसायीलाई प्राथमिकतामा नराख्दा कोरोनाले धेरै व्यवसायीको ज्यान गएको भन्दै यही अवस्थामा औषधि पसल सञ्चालन गरेर बस्न नसक्ने बताउनुभयो । निषेधाज्ञा भए पनि दिनहुँ औषधि पसल खोल्दा सङ्क्रमणको जोखिम भएको र धेरैको मृत्यु भएकाले खोप अनिवार्य भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

(एपोन)का महासचिव विप्लव अधिकारीले तीन पटकसम्म खोपका लागि स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई पत्राचार गर्दा पनि खोप लगाउन नपाएको गुनासो गर्नुभयो । उहाँले औषधि उत्पादक र त्यहाँ काम गर्नेहरूसमेत फ्रन्टलाइनर भएको भन्दै उनीहरूलाई राज्यले हेर्ने दृष्टिकोण तरकारी व्यवसायीजस्तो पनि नभएको बताउनुभयो । महासचिव अधिकारीले औषधि मानिसको जीवनसँग सरोकार राख्ने विषय भएकाले उनीहरूलाई खोपमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले औषधि व्यवसायी तथा औषधि उत्पादकहरूलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा निर्णय नभइसकेको जानकारी दिनुभयो । अहिले बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिक्सलगायतका स्वास्थ्यकर्मीलाई मात्र खोपमा प्राथमिकता राखिएकाले औषधि व्यवसायी र उत्पादकहरू प्राथमिकतामा पर्न नसकेको उहाँले बताउनुभयो । उहाँले व्यवसायी र उत्पादकहरूलाई खोप लगाउने विषयमा निर्णय हुनसक्ने बताउनुभयो ।

नेपाल औषधि उत्पादक सङ्घका महासचिव अधिकारीले १० हजार व्यक्ति औषधि उत्पादकको क्षेत्रमा जोडिएको जानकारी गराउनुभयो । यसैबीच एपोनका महासचिव अधिकारीले कोरोनाका कारण पारासिटामोल अभाव हुन गएको बताउनुभएको छ । उहाँले काठमाडौँमा सिटामोलको अभाव नभए पनि वीरगञ्ज, विराटनगर, नेपालगञ्जलगायत भारतीय सीमा नाका जोडिएका स्थानमा भने सिटामोलको अभाव भएको जानकारी गराउनुभयो ।

नेपालबाट भारततर्फ सिटामोल गएकाले अभाव हुन पुगको उहाँको भनाइ छ । सीमा नाकामा कडाइ नगरेसम्म भारतसँंग सीमा नाका जोडिएका प्रमुख नाकामा सिटामोलको अभाव हुनसक्ने भएकाले प्रशासनले कडाइ गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा प्रतिचक्की एक रुपियाँ पर्ने सिटामोल भारतमा दुई रुपियाँमा बेच्न पाउने भएपछि भारततर्फ गएको उहाँले बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया