काठमाडौं, जेठ २९ : नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा नियन्त्रणमा लिएर तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवरसम्म जाने बाटो निर्माणलाई भारतले रोक्नुको सट्टा झन् तीव्रता दिएको छ ।
भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा गर्वाधार क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा खसेको चट्टानले महाकाली नदीवारि नेपालको व्यास गाउँपालिका–२ स्थितकल्जु क्षेत्रमा भत्किएको घोडेटो । महाकालीपारिबाट खसेको चट्टान वारिसम्म आएर बाटो पुरिएको हो। पहिरो खसेको दिन मंगलबार केही समय महाकालीसमेतथुनिएको थियो। तस्बिर सौजन्य : हरकसिंह बुढाथोकी
नेपाली भूमि हुँदै मानसरोवर जाने ‘सिंगल लेन’ सडकको नयाँदिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको १३ महिनापछि शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले थप प्रगति बाहिर ल्याएका हुन् । नेपाली भूमिमा भारतले सडक निर्माण गरेकामा नेपालले असहमति जनाउँदै आएको छ ।
गत वर्ष उक्त सीमा विवादकै विषयमा परराष्ट्र सचिवस्तरीय र परराष्ट्रमन्त्री संयुक्त संयन्त्रको वार्ता भए पनि भारतले निर्माण रोकेको छैन । सीमा क्षेत्रमा सडक निर्माण गर्ने सुरक्षा निकाय बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई ‘कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो निर्माण गरेको’ भन्दै शुक्रबार रक्षामन्त्री सिंहले प्रशंसा गरेपछि ती क्षेत्रमा निर्माण भइरहेको सडकलाई भारतले अहिले पनि कति प्राथमिकता दिइरहेको छ भन्ने झन् स्पष्ट भएको हो ।
सिंहले नै २०७७ वैशाख २६ मा दिल्लीबाटै यो बाटो निर्माण शुभारम्भ गरेका थिए । शुक्रबार उनले नै नयाँदिल्लीबाट बीआरओलाई सम्बोधन गर्दै भने, ‘पछिल्ला पाँच–सात वर्षमा बीआरओले उल्लेखनीय उपलब्धि गर्यो । चाहे यो अटल टर्नेल रोहताजस्ता नयाँ विश्वस्तरीय निर्माण थालनी होस् वा कैलाश मानसरोवर यात्राका लागि नयाँ मार्ग निर्माण होस्, बीआरओले नयाँ रेकर्ड कायम गरेको छ ।’भारतले भूमि अतिक्रमण गरेपछि नेपालले २०७७ वैशाख ३१ गते सशस्त्र प्रहरी बल (एपीएफ) को ३५ जनाको सुरक्षा टोली छाङरुमा पठाएर गुल्म राख्ने निर्णय गरेको थियो ।
असोज ९ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापा छाङरु पुगेर गुल्म भवन शिलान्यास गरेका थिए, जसमा ५० जनाको टोली खटाइएको थियो । अहिले एपीएफ संख्या बढे पनि भारतबाट सीमा बोर्डरमा भइरहेका गतिविधिलाई रोक्न सकेको छैन । सीमा सुरक्षाको जिम्मा लिएर खटिएको एपीएफ सीमा क्षेत्रभन्दा करिब ७ किलोमिटर यतै बसेको छ । केन्द्रबाट सहयोग नहुँदा सीमा पारकै भारतीय सुरक्षाकर्मीको सहयोगमा उनीहरूले खाद्यान्य खरिद गर्नु परेको छ ।
भारतले नेपाली भूमिमा नेपालकै जानकारीबिना सडक निर्माण गरेपछि तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी दिने क्रममा ‘भारतले नेपालको १९ किलोमिटर भूभागमा बाटो बनाएको’ प्रस्ट पारेका थिए । सिंहले सडक उद्घाटन गरेको भोलिपल्ट नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भारतलाई तत्काल उक्त भूमिमा गतिविधि नगर्न आग्रह गरेको थियो । सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो भूमि भएको नेपालले ध्यानाकर्षण गराएको थियो । भारतले पनि सोही दिन विदेश मन्त्रालयमार्फत ‘सडक आफ्नै भूमिमा बनाएको र केही समस्या भए कोरोना भाइरस संक्रमणपछि वार्ता गर्न सकिने’ जनाएको थियो ।
भारतीय गृह मन्त्रालयले २०७६ कात्तिक २५ मा जम्मु र कश्मीरलाई समेटेर जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको थियो । लगत्तै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियो । त्यसयता पनि भारतले नेपालको भूभागमा सडक नै निर्माण गरेपछि नेपालले सीमा समस्या समाधान गर्नका लागि ५ पटक कूटनीतिक नोट पठाइसकेको छ । भारतले कोभिड–१९ संक्रमण सकिएपछि मात्र वार्ता गर्न सकिने भनेपछि नेपालले पनि आफ्नो भूभाग लिम्पियाधुरासहित समेटेर २०७७ को जेठ ७ मा नयाँ नक्सा जारी गरेको थियो । भारतले भने ‘नेपालको नक्सा अस्वीकार्य’ भनिदियो ।
नेपालको राजनीतिक उतारचढाव, भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयल २०७७ कात्तिक ५ मा नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि दुई मुलुकबीचको समन्वयमा केही सहजता भएको थियो । त्यसपछि भारतबाट स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गरे । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पनि नेपालको भ्रमण गरेपछि नेपाल–भारतबीचका कूटनीतिक वार्ता अघि बढ्ने वातावरण बनेको थियो । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता काठमाडौंमा भयो । भारतका विदेश सचिव हर्षबर्धन शृंगला मंसिर २६ र २७ गते नेपाल आए । तर मुलुकका अन्य स्थानका सीमा सम्बन्धमा वार्ता भए पनि कालापानी क्षेत्रको भूभागबारे छलफलै भएन ।
पछि परराष्ट्रमन्त्री ज्ञवाली माघ १ मा दिल्ली गएर रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेर फर्किए पनि सीमाबारे के कुरा भयो भन्ने खुलासा हुन सकेको छैन । ज्ञवालीले काठमाडौं फर्किएलगत्तै ‘सीमा समस्या छिटो समाधान गर्न दुवै मुलुक प्रतिबद्ध’ रहेको मात्र सञ्चारकर्मीलाई बताए ।
कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमणको समस्यालाई वार्ताद्वारा समाधान गर्ने भनेर राजनीतिक रूपमा सहमति भए पनि भारतीय पक्षले अटेर गर्दै आएको छ । पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ भेखबहादुर थापा संवाद थाल्न भारतले ठाउँ नदिएको ठान्छन् । ‘यो संवेदनशील कुरा हो । (भारतबाट) बलजफती भइरहेको छ । मुख्य (नेपाल) सरकारले हेर्नुपर्यो । सरकारी स्तरमा परराष्ट्र सचिव र परराष्ट्रमन्त्रीले हेर्नुपर्यो,’ उनले भने, ‘राष्ट्रले नै भूगोल मिचेर गएको छ भनेको भन्यै छ तर उनीहरू (भारत) ले हाम्रो कुरा नसुनेको मात्र होइन, बेवास्ता गरेकै देखिन्छ ।’
अर्का पूर्वपरराष्ट्रमन्त्री नारायणकाली श्रेष्ठले ओली सरकारले राष्ट्रिय स्वाधीनता र अखण्डताका सबै अडानबाट आफूलाई विचलित गरेको आरोप लगाए । ‘सरकारले सत्तास्वार्थका निम्ति विदेशी हस्तक्षेपलाई स्वीकार गरेको छ,’ उनले भने । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पछिल्ला घटनाबारे सम्बन्धित डिभिजन र दिल्लीस्थित नेपाली दूतावासबाट बुझेर मात्र प्रक्रिया दिने बताइन् । कान्तिपुरले सम्पर्क गर्दा नेपालस्थित भारतीय दूतावासले भने प्रतिक्रिया दिन चाहेन ।
नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र
महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ ।

भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा बम विस्फोट गराउँदा खसेको चट्टानले नदी थुनिएपछि पुरिएको दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारको घोडेटो (बायाँ) । छोटो बाटो पुरिएपछि दुम्लिङबाट छाङरु हुँदै टिंकर जान सशस्त्र र नेपाल प्रहरीले बनाएको वैकल्पिक गोरेटो । तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेट) आनन्द स्वरूपलाई नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गरेका हुन् । प्रजिअ जोशीले त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको बताए । पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई भनिएको छ । यसको जवाफ उताबाट आइनसकेको उनले बताए । प्रजिअ जोशीले भारतको धारचुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण नदी पसेर बाटो अवरुद्ध भएको विवरण गृह मन्त्रालयमा दिइएको जनाए ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारतले आफ्नोतर्फ सडक निर्माण गर्दा खसेको पहिरोले नदीको बहाव नेपालतर्फ आएर सडक डुबाउनुका साथै भत्काएको विषय प्रशासनबाट पत्राचारमार्फत जानकारीमा आएको बताए । यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतको ध्यानाकर्षण गराइने उनले बताए । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारतर्फको घोडेटो मंगलबार पारिपट्टि निर्माणाधीन धारचुला–लिपुलेक सडक विस्तार गर्दा चट्टान खसेर भत्किएको थियो ।
त्यसको दुई दिनपछि बिहीबार प्रजिअ जोशीले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएर त्यस्ता गतिविधि रोक्न भारतीय पक्षलाई पत्र पठाएका हुन् । नदीमा खसेको चट्टानलाई पन्छाएर पानीको बहावलाई पूर्ववत् प्राकृतिक धारमा फर्काउन भारतीय पक्षसँग आग्रह गरिएको उनले जानकारी दिए ।
भारतले सडक विस्तारका क्रममा महाकालीपारि गर्वाधार क्षेत्रमा चट्टान फुटाउन बम विस्फोट गराएको थियो । यो सडक निर्माणका क्रममा तावाघाटदेखि बुदीसम्म महाकाली किनारको नेपालतर्फको जमिन तीव्र रूपमा कटान गरिरहेको छ । त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न सकेको छैन । मंगलबारको विस्फोटबाट खसेको चट्टान महाकाली नदीमा खसेर बहाव रोकिनुका साथै त्यसकै असरले वारिपट्टि नेपालको बाटो भत्केको छ ।
बाटोमा नदी पसेपछि मानिसको आवागमन नरोकियोस् भनेर दुम्लिङस्थित सशस्त्र प्रहरीको बीओपी र प्रहरी चौकीबाट जनशक्ति खटाएर वैकल्पिक गोरेटो खुलाइएको छ । जुन बाटो अहिलेको भन्दा २ घण्टा बढी समय लगाएर पार गर्नुपर्छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले सशस्त्रका संरचना जहाँ–जहाँ छन्, त्यस क्षेत्रमा बाटो–घाटो, पुलपुलेसा भत्किँदा सामाजिक दायित्व र सरकारका आदेश, निर्देशनअनुसार अवरोध खुलाइँदै आएको बताए । निर्माणाधीन भारतीय सडक नदीबाट ५/६ सय मिटर उचाइमा छ तर नेपालतर्फको गोरेटो करिब २० मिटर र कतै नदी किनारैकिनारमा पर्छ । दुम्लिङस्थित सशस्त्रको बीओपी र नेपाल प्रहरीको चौकी छ । बाटो अवरुद्ध भएको ठाउँ बीओपीबाट करिब २ सय मिटर उत्तरतर्फ पर्छ ।

महाकाली नदीको प्राकृतिक बहावलाई अतिक्रमण गरेर भारतीय पक्षले पटक–पटक गैरकानुनी र एकतर्फी संरचना बनाउने गरेको भन्दै प्रजिअ अधिकारीले आपत्ति जनाए । ‘२०७२ सालमा बाढी आउँदा महाकालीको धार परिवर्तन भएर नेपालतर्फ सोझियो, त्यसको मौका छोपेर एकतर्फी रूपमा पछिल्लोपटक करिब डेढ सय मिटरमा नेपाली भूमिसमेत समेटेर बाँध बनाइएको छ, त्यसले अब नदीमा बाढी आउँदा पनि धार नेपालतर्फ सोझिन्छ,’ उनले भने, ‘यस विषयमा गृहमार्फत परराष्ट्र मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराइएको हो, पिथौरागढ प्रशासनलाई पठाएको पत्रको त जवाफ नै आएन । गत वर्ष घाँटीबगर क्षेत्रमा नेपालतर्फ घोडेटो बनाउँदा पनि भारतीयले अवरोध गरे,’ इकान्तिपुर अनलाइनमा उल्लेख छ ।