समाजिक सञ्जालमार्फत भ्रम सिर्जना नगर्न सुर्नया गाउँपालिकाको आग्रह

  जेठ २१, २०७८

बैतडी, जेठ २१ : सुर्नया गाउँपालिका बैतडीले सामाजिक सञ्जालमार्फत गाउँपालिकाका विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरेको छ । विगत केही दिनयता केही व्यक्तिहरुले समाजिक सञ्जालमार्फत गाउँपालिकाका विकास निर्माण र कार्यक्रमका विषयमा सर्वसाधारणलाई भ्रम सिर्जना हुने गरी गतिविधि अगाडि बढाइरहेको पाइएकोमा गाउँपालिकाको ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता तत्वहरुले समाजिक सञ्जालमार्फत सिर्जना गर्न खोजेका भ्रममा नपर्न गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।

सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले शुक्रबार विज्ञप्ति जारी गर्दै गाउँपालिका कोरोना महामारी नियन्त्रणमा पूर्ण सक्रिय रहेको र अवस्था बिस्तारै सहज हुँँदै गइरहेकोले विकास निर्माणका कामले गति लिने विश्वास व्यक्त गरेका छन् । २०७८ वैसाख १७ गतेदेखि बैतडी जिल्लाभरि नै निषेधाज्ञा जारी रहेकाले विकास निर्माणका काम, योजना तथा कार्यक्रम प्रभावित हुने र ढिलो सञ्चालन हुने अवस्था देखिएकोले यो वास्तविकतालाई सबैले बुझी दिन उनले आग्रह गरे ।

संघिय सरकारले गाउँपालिकालाई शशर्त अनुदान उपलब्ध गराएका कार्यक्रम सञ्चालनका लागि प्रकृया बढे पनि कोरोना र बन्दाबन्दीले उक्त कार्यक्रमहरु प्रभावित भएको र संक्रमण समान्य बन्दै गएपछि उक्त कार्यक्रमहरु कार्यन्वयन प्रकृयामा क्रमश समावेश गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । संघिय सरकारबाट अनुदानमा प्राप्त कार्यक्रमहरु जुन कार्यक्रमका लागि तोकिएको हुन्छ त्यही कार्यक्रमका लागि खर्च गर्नुपर्ने बाध्यता भएकाले उक्त कार्यक्रमको बजेट भौतिक निर्माण र अन्य पूर्वाधार तथा विकासमा खर्च गर्न नसकिने कार्यविधि रहेको जानकारी गराइएको छ ।

गाउँपालिकाका कर्मचारी नै कोरोना पोजेटिभ देखिएकाले कार्यक्रम र योजना सञ्चालनमा केही असहजता भएको जनाउँदै स्थिति सामान्य हुँदै गएकोले विकास निर्माणका काम र अनुदानका कार्यक्रमले छिट्टै गति लिने विश्वास गाउँपालिकाले लिएको छ । गाउँपालिकाले वडा नं. ४ डौडामाण्डौमा जिर्ण पुल मर्मत यसै वर्ष सम्पन्न गर्ने कार्यक्रम रहेको पनि विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया