एमाले कार्यदल आन्तरिक छलफल र गृहकार्यमा, समयसीमा लम्बिन सक्ने

  जेठ ०३, २०७८

काठमाडौं, जेष्ठ ३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद समाधानार्थ गठित कार्यदलले आन्तरिक गृहकार्यमा छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग अनौपचारिक रुपले आन्तरिक परामर्श थालेको कार्यदलको औपचारिक बैठक बस्ने तयारी भएको छ ।

कार्यदलका संयोजक तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग अनौपचारिक परामर्शमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग टेलिफोन संवाद र भेटेर अनौपचारिक कुराकानी भइरहेको छ, सम्भवतः मंगलबार कार्यदलको बैठक बस्छ ।”

अध्यक्ष ओली र नेता नेपालले आपसी सहमतिमा पार्टीको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन गृहकार्य गर्न १० सदस्यीय कार्यदल गठन गर्नुभएको छ । दुवै जनाको तर्फबाट पाँच–पाँच जना सदस्यहरु कार्यदलमा हुनुहुन्छ । गृहकार्य गरी छोटो समयमै प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदललाई दिइएको भए पनि नेताहरुको व्यस्तताका कारण प्रतिवेदन तयार गर्न केही समय लम्बिन सक्ने देखिएको छ ।

कार्यदलका सदस्य रघुजी पन्तले कार्यदलको समयसीमा मंगलबारसम्म रहेपनि प्रतिवेदन तयार गर्न समय लाग्ने बताउनुभयो । “हामी आफ्नो पक्षका सदस्यहरुसँगको गृहकार्य गरिरहेका छौं, आज कार्यदलको बैठक बस्ने टुङ्गो लागिसकेको छैन”, उहाँले भन्नुभयो, ”पार्टीको विवाद समाधानका लागि गृहकार्य गर्न समय लाग्ने भएकाले केही समय लाग्छ, भोलि नै सकिदैन ।”

कार्यदलमा अध्यक्ष ओलीतर्फबाट नेम्वाङ्को संयोजकत्वमा नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य हुनुहुन्छ । त्यस्तै नेता नेपालको तर्फबाट संयोजक भीमबहादुर रावलसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहनुभएको छ ।

तपाईको प्रतिक्रिया