उपाधिका लागि धनगढीले काठमाडौंको सामना गर्दै

  जेठ ०१, २०७८

काठमाडौं, जेठ १ : नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधिका लागि धनगढी एफसीले आज काठमाडौं रेजर्सको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा फाइनल खेल साँझ साढे पाँच बजेपछि खेलाइनेछ । उपाधि जित्ने टोलीले ३५ लाख रुपियाँसहित ट्रफी उचाल्नेछ । काठमाडौं र धनगढी लिग चरणका शीर्ष दुई टोली हुन ।

उपाधिको होड अघि प्रि म्याच प्रेस कन्फेरेन्समा दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि आफू जित्ने दाबी गरेका छन् । धनगढी एफसीका कप्तान किरणकुमार लिम्बू हुनुहुन्छ । उहाँ राष्ट्रिय फुटबल टोलिका पहिलो रोजाइका कप्तान हुनुहुन्छ । धनगढीका प्रशिक्षक नाइजेरियाली फुजा तोपे हुनुहुन्छ ।

किरण भर्सेस बिकेश
काठमाडौं रेजर्सका कप्तान बिकेश कुथु हुनुहुन्छ । उहाँ राष्ट्रिय फुटबल टोलीका दोस्रो प्राथमिकताका गोलरक्षक हुनुहुन्छ । किरण र बिकेश दुबैजनाले आ आफ्नो टोलिको नेतृत्व गरेका छन् । टोलिलाई नेतृत्व दिनुका साथै ब्यक्तिगत् प्रदर्शनमा समेत धनगढीका किरणकुमार लिम्बूले उत्कृष्ट लय देखाउनुभएको छ । यद्दपी लिग चरणमा काठमाडौंले धनगढीभन्दा उत्कृष्ट प्रदर्शन गर्दै लिग विजेता भएको थियो ।  छ खेलबाट १३ अङ्क जोडेको थियो । चार खेलमा काठमाडौंले जित हात पारेको थियो ।

काठमाडौंका कप्तान बिकेश कुथु गोल किपर हुँदा दश गोल खानुभएको छ । काठमाडौंले दोस्रो प्ले अफसम्म १३ गोल गरेको छ । प्रतियोगितामा काठमाडौंले हालसम्म आठ खेल खेलेको छ । पहिलो प्ले अफमा हार बेहोर्दा लिगको विजेताको हैसियतले उसले दोस्रो अबसर पायो । दोस्रो अबसरमा ललितपुरलाई हराएर काठमाडौंले उपाधिका लागि धनगढीसँगकै भेट सुनिश्चित गरेको हो ।

उता धनगढीका कप्तान समेत रहनुभएका किरणकुमार लिम्बूले मात्र छ गोल खानुभएको छ । धनगढीले प्रतियोगितामा दश गोल गरेको छ । सुदूरपश्चिमको धनगढीले लिग चरणको छ खेलमध्ये तीनमा जित हात पारेर दश अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेर प्ले अफसम्मको यात्रा गरेको थियो । पहिलो प्ले अफमा काठमाडौंलाई हराएर उसले फाइनलको यात्रा सुनिश्चित गरेको छ ।

काठमाडौं र धनगढीबीचको बिगत्को भेट
काठमाडौं र धनगढी दुबै टोली लिग चरणमा एक र पहिलो प्ले अफ गरी दुई पटक एक अर्काको सामना गरेको छ । दुबै अबसरमा काठमाडौं रेजर्स पराजित भएको छ । लिगमा काठमाडौंमाथि धनगढीले ३–० काृे सहज र आरामदायी जित हात पारेको थियो । प्ले अफमा धनगढीसँग लिग चरणको हारको बदला लिने अपेक्षा गरिएको काठमाडौंले दोस्रो पटक पराजय हुनुपर्यो । धनगढीले पहिलो प्ले अफमा काठमाडौंमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै काठमाडौंलाई सहजै प्ले अफ पुग्ने बाटो बन्द गर्यो ।

ब्यवस्थापकीय चुनौती
कोभिड १९ को महामारीले काठमाडौंसहित देशैभरि दैनिक हजारौं सङ्क्रमित थपिएका छन् । दैनिक मृत्यु हुनेको सङ्ख्या तीन अङ्कमा पुगेको छ । यद्दपी ब्यवस्थापकीय चुनौतीका बीच दर्शकको अनुपस्थितिमा भइरहेको प्रतियोगिताको लिग चरणमा २१ खेल र प्ले अफमा तीन गरी हालसम्म २४ खेल सम्पन्न भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मैनेजमेन्टको ब्यवस्थापन र अखिल नेपाल फुटबल सङ्घको प्राबिधिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रत्येक खेलपछि रङ्शालाभित्र खेलाडीले प्रयोगमा ल्याएको स्थानदेखि शौचालयसम्म ‘डिस्इन्फेक्टेड’ गरिएको छ । खेलाडीको बसाइ र आवागमनमा समेत विशेष सतर्कता अपनाइएको छ । यी चुनौतीका बीच फाइनलमा दुई टोलीबीचको स्पर्धा रोमाञ्चक हुने अपेक्षा गरएको छ ।

तपाईको प्रतिक्रिया