संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न चिकित्सकको सुझाव

  बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : सामाजिक सञ्जाल हेरेर वा कसैको भनाइका आधारमा कोरोना सङ्क्रमितले औषधि त सेवन गरिरहनुभएको छैन ? आफूखुसी कुनै पनि औषधि सेवन गर्न नहुने चिकित्सकको सुझाव छ । कोरोना महामारीको दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाएको र त्रास बढिरहेको अवस्थामा चिकित्सकको सिफारिसबिनाका औषधि सेवन गर्नेको सङ्ख्या धेरै रहेको चिकित्सकहरूको दाबी छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भन्नुभयो, “पछिल्लो समय जथाभावी एन्टिबायोटिक औषधिको सेवन बढेको कुरा आइरहेको छ । यो एकदम गलत हो । हल्ला र असम्बन्धित व्यक्तिले भनेको भरमा यसरी औषधि खानु हुँदैन ।” आफूखुसी निर्णय गरेर औषधि खाँदा त्यसले झनै गम्भीर समस्या निम्त्याउने उहाँले प्रस्ट पार्नुभयो । डा. पुनले भन्नुभयो, “सामान्य लक्षण देखिएका व्यक्तिले भने लक्षणअनुसारको औषधि खानुपर्छ, त्यो पनि चिकित्सकको परामर्शमा । पीसीआर पोजेटिभ देखियो तर लक्षण देखिएन भने औषधि खाइरहनु जरुरी छैन ।”

सङ्क्रमितले अस्पताल आउनुअघि नै एन्टिबायोटिक खाएर आउने गरेको भेटिएको डा. पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै एन्टिबायोटिक औषधिले पेटमा असर गर्छ, दिसा पातलो हुने, वाकवाक लाग्ने र अरुचि लाग्ने हुन्छ । बिरामीको प्रकृति हेरेर विभिन्न खालका औषधि चलाउनुपर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “रगत, एक्स–रे रिपोर्ट हेरेर कुन औषधिले राम्रो गर्छ, त्यही मात्र दिनुपर्छ ।”

छाती रोग विशेषज्ञ रक्षा पाण्डेले आफूखुसी औषधि खाएर पनि दीर्घरोग लाग्ने सम्भावना धेरै हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ भाइरल रोग भएकाले यसमा जुन खालको समस्या हुन्छ, त्यसअनुसारको उपचार गर्ने हो । भाइरसका कारण हुने रोगमा एन्टिब्याक्टेरिएल औषधिको कुनै आवश्यकता छैन ।” डा. पाण्डेले लक्षणबिनाको सङ्क्रमितले पोसिलो खाना, पानी खाँदा हुने जानकारी दिनुभयो । आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रका कोभिड संयोजक डा. जितेन्द्र श्रेष्ठले पनि आफूले उपचार गर्ने सङ्क्रमितले आफूखुसी औषधि सेवन गरेर आएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया