नेपालमा प्रयोग गरिएको चिनियाँ खोप सिनोफार्मलाई डब्ल्यूएचओको अनुमति

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २४ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड-१९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दिएको छ । पश्चिमा राष्ट्रबाहेक विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुमति दिएको यो पहिलो खोप हो । उक्त खोपको प्रयोग चीनसँगै विश्वका अन्य राष्ट्रमा दशौं लाखले लगाइसकेका छन् ।

चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि दिइएको छ । नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ । यसअघि डब्ल्यूएचओले फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ ।

यसअघि प्रभाबकारिताको तथ्याङ्क थोरै मात्रामा उपलब्ध गराइदा चिनियाँ खोपबारे थुप्रै अनिश्चिता उब्जिएको थियो । बीबीसीका अनुसार विश्व स्वास्थ्य संगठनले शुक्रबार अबेर चिनियाँ खोप सिनोफार्म ‘सुरक्षित, प्रभाबकारी र गुणात्मक’ रहेको निस्कर्ष निकालेको छ । उसले सिनोफार्म खोप १८ वर्षभन्दा माथि उमेरका ब्यक्तिलाई दुई डोजमा लगाइने बताएको छ । त्यसैगरी, विश्व स्वास्थ्य संगठनले चीनले नै उत्पादन गरेको सिनोभ्याक खोपको समेत मूल्याङ्कन गर्दैछ । रुसी खोप स्पुतनिकको समेत मूल्याङ्क भइरहेको छ ।

विभिन्न प्रतिवेदनका आधारमा चिनियाँ खोप सिनोफार्म हालसम्म छ करोड पचास लाख ब्यक्तिमा लगाइसकिएको छ । चीनबाहेक उक्त खोप पाकिस्तान, यूएई र हंगेरीले समेत प्रयोगमा ल्याएको छ । विश्व स्वास्थ्य संगठनले लक्षण भएका र अस्पतालमा भर्ना भएका कोभिड-१९ को बिरामीमा खोपको प्रभाबकारिता ७९ प्रतिशत रहेको जनाएको छ ।

डब्ल्यूएचओले स्वीकृतिको अर्थ
डब्ल्यूएचओले अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिन सहज हुन्छ । यसको अर्थ यो खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वभर वितरण पनि हुन सक्छ । कोभ्याक्स धनी र गरिब राष्ट्रहरूको खोपमा पहुँच न्यायिक होस् भन्ने उद्देश्यले स्थापना गरिएको हो ।

कोभ्याक्स कार्यक्रममा खोपको आपूर्ति कम भएर समस्या परिरहेको अवस्थामा चिनियाँ खोपले सो कार्यक्रमलाई निरन्तरता र बिस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । डब्ल्यूएचओले स्वीकृति दिनअघि नै यो खोप लगभग छ करोड ५० लाख मानिसलाई दिइएको छ। यूएई, पाकिस्तान र हङ्गेरीमा पनि यो खोप दिइएको छ । डब्ल्यूएचओको प्राविधिक परामर्श समूहले तथ्याङ्क अध्ययन गरेर स्वीकृतिका लागि सिफारिस गर्दा यसको प्रभावकारिता ७९ प्रतिशत रहेको बताएको थियो ।

तर डब्ल्यूएचओले ६० वर्षमाथिका व्यक्तिका कमै तथ्याङ्क उपलब्ध भएका कारण त्यो उमेर समूहमा यसको प्रभावकारिता यकिन नभएको बताएको छ। उसले यसले त्यो उमेर समूहमा काम नगर्ने भन्ने कुनै कारण भने नरहेको समेत बताएको छ । चिनियाँ खोपहरू पनि आस्ट्राजेनेका जस्तै साधारण चिसो तापक्रममा भण्डारण गर्न सकिन्छ जसलाई यसको फाइदा मानिएको छ ।

तपाईको प्रतिक्रिया