नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दो, यसरी जोगाउन सकिन्छ ?

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : नेपालमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा सङ्क्रमित हुने बालबालिकाको सङ्ख्यामा वृद्धि देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गएको सात दिनमा पीसीआर र एन्टिजन परीक्षण गरी कुल १०,६३५ जना सङ्क्रमित थपिएका छन् ।

त्यसमा नौ वर्षसम्मका २२३ जना र १० देखि १९ वर्षसम्मका ८६५ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.१ र ८.१ प्रतिशत हो । चिकित्सकहरूले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको बताएका छन् ।

नेपालमा हाल कोरोनाभाइरसको यूके भेरिअन्ट र डबल म्युटन्ट भेरिअन्ट देखा परेको सरकारले जनाएको छ । वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड १९ परीक्षण कम भएको हुँदा सङ्क्रमित बालबालिकाको सङ्ख्या अझ बढी हुन सक्ने ठानिएको छ ।

अस्पतालको अवस्था के छ?
कोरोनाभाइरसबाट सङ्क्रमित हुने बालबालिकाहरूको सङ्ख्या बढ्ने क्रममा रहेता पनि हालसम्म अस्पतालमै पुर्‍याउनु परेका बालबालिकाहरूको सङ्ख्या भने कम नै रहेको काठमाण्डूका केही अस्पतालले जनाएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राध्यापक डा. रवि शाक्यका अनुसार त्यहाँ हाल १४ वर्ष मुनिका छ जना बिरामी भर्ना भएका छन् । उनीहरू सबै पछिल्लो दुईदेखि तीन दिनमा भर्ना भएको र उनीहरूको अवस्था सामान्य नै रहेको शाक्यले बताए । “तर समग्रमा हेर्दा चाहिँ यसअघि भन्दा अहिले भर्ना हुन आउने बिरामी बढी गम्भीर अवस्था भएर आएका छन्,” उनले भने ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेका अनुसार पहिले दुईदेखि तीन प्रतिशतमा सङ्क्रमण पुष्टि हुन्थ्यो भने अहिले त्यो दर बढेको छ । “तर बिहीवार मात्रै १५० जनाको परीक्षण गर्दा ४१ जना सङ्क्रमित भर्ना हुनुहुन्छ,” उनले भने ।

हाल त्यहाँ बालबालिका भर्ना नभएको भए पनि उनीहरूका लागि छुट्टै वार्डको व्यवस्था गरिएको काफ्लेले जानकारी दिए । कान्ति बाल अस्पतालमा यो महिना हालसम्म चार जना बालबालिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालका फोकलपर्सन डा. कृष्णप्रसाद बिष्टले जानकारी दिए ।

कान्ति कोरोना अस्पताल नरहेकाले बाहिरबाट कोरोनाभाइरस सङ्क्रमित भएकाहरूलाई भर्ना नगरिएको तर भर्ना भएका बिरामीहरूमा लक्षण देखिए मात्रै परीक्षण गरी उपचार गरिएको उनले जानकारी दिए ।

अभिभावकले ध्यान दिनुपर्ने कुरा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेलका अनुसार सङ्क्रमणबाट बालबालिकालाई बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ । उनका अनुसार बालबालिकासँगै रहने अभिभावकले सतर्कता अपनाउनुपर्छ ।

खेलकुदका सुरक्षित स्थानको व्यवस्थापनदेखि उनीहरूको मानसिक स्वास्थ्यमा प्रभाव नपरोस् भनेर बालबालिकाहरूको उमेरका हिसाबले सृजनात्मक क्रियाकलापमा लगाउन चाँजोपाँजो मिलाउन अभिभावकले भूमिका खेल्नुपर्ने उनी बताउँछन् । सरकारले बालबालिकाहरूलाई सङ्क्रमणबाट जोगाउनका लागि ठुला सहरहरूमा विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ ।

यस्तो अवस्थामा घर भित्रबाहिर गर्ने अभिभावकहरूले घर आउनासाथ सिधै बालबच्चालाई समात्न नहुने पौडेल बताउँछन् । “भाइरस जेमा पनि हुन सक्ने हुँदा जहाँतहीँ मास्क नफालौँ, बाहिरको कपडा पनि छुट्टै राखौँ। सकिन्छ भने नुहाएर मात्रै बालबालिका समाउने गरौँ,” उनले भने ।

बालबालिकाहरूलाई कोरोनाभाइरसका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उनको भनाइ छ । “यति मृत्यु भयो, यति बिरामी भयो भन्दा यति निको पनि भएका छन् भनेर सकारात्मक सोच आउने खाले सन्देश पनि दिनुपर्छ,” उनले थपे । बालबालिकाहरू घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने उनको भनाइ छ ।

बालबालिकामा लक्षण कसरी थाहा पाउने?
सामान्यतया बच्चाको अवस्था नराम्रो रहेको अभिभावकहरूलाई थाहा हुने पौडेल बताउँछन् । बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्त्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने उनी बताउँछन्।

बेलैमा अवस्था थाहा पाए उपचार गर्न सहज हुने उनको भनाइ छ । उपचारका क्रममा चिकित्सकलाई सही सूचना दिन पनि जरुरी हुने उनी बताउँछन् । कतिपय बालबालिका सङ्क्रमित भए पनि लक्षण भने नदेखिने पनि हुन सक्ने नेपाल पेडियाट्रीक सोसाइटीको भनाइ छ ।

“विश्वका बालबालिकामा बिरामीको समय भन्दा पनि रोग लागेको ४-६ हप्ता पछि मल्टी सिस्टम इन्फलेमेटरी सिनड्रोम इन चिल्ड्रेन (एमआइएससी) भई बच्चाहरू सिकिस्त हुन सक्छन् । यसको उपचार निकै महँगो छ, अत्यन्तै कडा रूपमा प्रस्तुत हुने र आईसीयूको आवश्यकता सँगै कतिपय अवस्था जटिल समेत हुन्छ,” सोसाइटीले सार्वजनिक गरेको अपिलमा उल्लेख गरिएको छ ।

उक्त अवस्थाको लक्षण ज्वरो, कडा झाडा पखाला, बढी पेट दुख्ने, श्वास फेर्न गाह्रो र शरीरमा डाबरको साथै मुटुका समस्याहरू पनि हुन सक्ने बताइएको छ । डा. शाक्यका अनुसार बालबालिका र बढी उमेर भएकाहरूमा देखिने लक्षण लगभग उस्तै नै हुन्छन् । प्राय:मा श्वासप्रश्वास असहज हुने, ज्वरो आउने र निमोनिया देखिने गरेको डा. शाक्यको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया