बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा आदेश, पत्रकारलाई थुनामुक्त गर्न आदेश

  बैशाख २४, २०७८

काठमाडौँ, वैशाख २४ : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई रु पाँच लाख धरौटी लिई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलाशले बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गरी विशेष अदालतको आदेशबाट थुनामा रहनुभएका बस्न्यातलाई उक्त रकम लिई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।

कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएको र मुटु रोगीसमेत भएको हुँदा धरौटीमा रिहा भई मुद्दा लड्न पाउनुपर्ने माग गर्दै यही वैशाख १७ गते उहाँका ज्वाइँ प्रज्वल अधिकारीले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन मुख्य भूमिका निर्वाह गरेको आरोपमा बस्न्यातविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा दर्ता गरेका अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध विसं २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पत्रकारलाई थुनामुक्त गर्न आदेश
अदालतले समाचार सम्प्रेषण गर्दा तथ्यगत त्रुटि गरेका कारण पक्राउ परेका उज्यालो नेटवर्कका दुई पत्रकारलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश खतिवडा र डा भट्टराईको संयुक्त इजलासले आज प्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ भनिने श्यामबहादुर तामाङ र महाप्रबन्धक प्रभात भनिने दुर्गालाल तामाङलाई तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा समाचार सम्प्रेषणसम्बन्धी विषयमा विवाद देखिएको र समाचार सम्प्रेषण गर्दा तथ्यगत त्रुटि गरेका कारण निवेदकले क्षमायाचनासमेत गरिसकेका अवस्थामा थुनामा राखिरहनु गैरकानूनी हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया