धनगढीको तेस्रो जित, प्ले अफका लागि छनोट

  बैशाख २३, २०७८

काठमाडौं, वैशाख २३ : धनगढी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफका लागि छनोट भएको छ । लिग चरणको अन्तिम खेल अगावै धनगढीले प्ले अफका लागि स्थान पक्का गरेको हो । बुधबार सम्पन्न खेलमा धनगढीले पोखरालाई हराउँदै प्ले अफका लागि छनोट भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा धनगढी एफसीले पोखरा थन्डर्सलाई १–० ले हराएको छ । धनगढीका लागि दर्शन गुरुङले ६८ औं मिनेटमा गर्नुभएको गोल नै उसको जितमा निर्णायक रह्यो । धनगढीले पाँच खेलमध्ये तीनमा जित हात पारेको छ । एक खेल बराबरी खेलेको धनगढीले एकमा हार बेहोरेको छ । उसले पाँच खेलबाट दश अङ्क जोडेको हो ।

प्ले अफका लागि चार टोली छनोट हुनेछ । दोस्रो स्थानको विराटनगरको सात अङ्क छ । काठमाडौं रेजर्सको सात र चौथो स्थानको बुटवल लुम्बिनी एफसीको पाँच अङ्क छ । पाँचौं स्थानको पोखराले अन्तिम खेलमा जित हात पारेको अवस्थामा पनि उसको आठ अङ्क मात्रै हुनेछ ।

तपाईको प्रतिक्रिया