उपत्यकाको पानी र दूधको गुणस्तर सुधार भएको दाबी

  बैशाख २३, २०७८

काठमाडौँ वैशाख २३ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाको पानी र दूधमा गुणस्तर नियन्त्रण गरेको दाबी गरेको छ । विभागले हालै दूध तथा पानी उद्योगको अनुगमन गरेपछि आएको परिणामले सो दाबी गरिएको विभागका महानिर्देशक उपेन्द्र रायले बताउनुभयो ।

“उपत्यकामा सबभन्दा बढी गुनासो आउने वस्तु नै दूध र पानी हो, त्यसलाई लगभग हामीले नियन्त्रण नै गरिसकेका छौँ,” उहाँले भन्नुभयो, “जारको पानीमा ६० प्रतिशत गुणस्तरमा सुधार भएको छ भने बोतलको पानीमा ९५ प्रतिशत तथा दूधमा ९० प्रतिशत गुणस्तरमा सुधार भएको छ ।”

डेरी उद्योगीहरूले दूधमा ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनपी रहेको दाबी गरे पनि विभागको प्रयोगशालामा परीक्षण गर्दा त्यस्तो नभेटिएको विभागले जनाएको छ । दूधमा फ्याट २.८ देखि २.९ प्रतिशत र ७.८ प्रतिशत एसएनपी फेला परेको थियो तर डेरीवालाहरूले त्यो मान्न तयार नै थिएनन् ।

महानिर्देशक रायले भन्नुभयो, “विभागले डेरी उद्योगमा रहेको प्रयोगशाला चेक गर्ने निधो ग¥यो । त्यसका लागि विभागले आफ्नो दूध लिएर उपत्यकाका ३६ वटा प्रयोगशालामा गएर परीक्षण गरेको थियो । ” डेरी उद्योगको प्रयोगशाला परीक्षण गर्दा विभागकै मापदण्डअनुसार थियो । प्रयोगशाला राम्रो हुँदाहुँदै समस्या कहाँ छ भनी अध्ययन गर्दा त्यहाँ काम गर्ने कामदार वा उद्योग मालिकको लापरबाही देखिएको विभागले ठहर गरेको छ ।

प्रयोगशाला राम्रो हुँदाहुँदै पनि उनीहरूले जानीजानी फ्याट र एसएनपी कम भएको दूध बजारमा पठाएको निष्कर्ष निकाल्दै विभागले पुनः डेरी उद्योगहरूसँग छलफल ग¥यो । छलफलमा विभागले उद्योगहरूको प्रयोगशाला ठीक छ तैपनि दूधमा किन समस्या देखिएको छ, यसको मतलब कामदार वा मालिकबाट नै बदमासी भएको हो भनी जवाफ दिँदा उद्योगीहरूले त्यसलाई सुधार गर्ने प्रतिबद्धता जनाएको महानिर्देशक रायले बताउनुभयो ।

अहिले विभागमा दूधका चारवटा नमुना दैनिक परीक्षणका लागि आउँछन् । त्यसको फ्याट र एसएनपीलगायत दूधका सबै गुणस्तर र मापदण्ड ठीकठाक रहेको दाबी विभागले गरेको छ । महानिर्देशक रायले भन्नुभयो, “विभागमा तीन/चार महिनादेखि दूधको खासै गुनासो आएको छैन, उद्योगीहरू पनि गुणस्तरका लागि सचेत भएका छन् ।” विभागले नेसनल फुड एन्ड फिड रिफरेन्स ल्याबरोटरी, दूध विकास संस्था, सुजल डेरी, सीताराम गोकुल मिल्क, नेपाल डेरी, खरीपाटी डेरी, श्री नवप्रभात डेरी, सैँजु डेरी, पञ्चशील डेरी, काठमाडौँ डेरी, कन्ट्री फुड प्रालिलगायत ३६ वटा डेरीका प्रयोगशालाको परीक्षण गरेको थियो ।

विभागले पानीका १८० उद्योगको अनुगमन गरेका छन् । ती उद्योगीहरूसँग पटकपटक अन्तक्र्रिया पनि गरेको छ । सबभन्दा बढी जारका पानीमा गुनासो आउने गरेको विभागले जनाएको छ । महानिर्देशक रायले भन्नुभयो, “हामीले पटकपटक पानी उद्योगका मालिकसँग अन्तक्र्रिया ग¥यौँ, समस्या पहिचान गर्ने काम ग¥यौँ र त्यसमा कडाइ गर्दै गएपछि अहिले ६० देखि ६५ प्रतिशत नियन्त्रणमा आएको छ । ” बजार अनुगमन गर्दा जार फोहर देख्नेबित्तिकै विभागले त्यसमा प्वाल पार्ने काम गरेको उहाँले बताउनुभयो ।

कुनै जार फोहोर देखियो भने उद्योगले यो जार आफ्नो होइन भनी पन्छिने गरेको विभागले जनाएको छ । बजारमा पठाएको एउटा उद्योगको जार अर्को उद्योगले पनि लग्ने गरेको छ र त्यसमै आफ्नो स्टिकर हालेर बजारमा पठाउने गरेका कारण जारको पानीमा गुणस्तरको समस्या देखिएको विभागले जनाएको छ । अब जारमा स्थायी रूपमा उद्योगको नाम लेखिएको हुनुपर्ने नियम विभागले बनाएको छ । जारमा उद्योगको स्थायी रूपमा नाम लेखिएको हुँदैन भने त्यसमा प्वाल पारिदिने तथा नियन्त्रणमा लिने विभागका महानिर्देशक रायले बताउनुभयो ।

जार फोहोर देख्नेबित्तिकै प्वाल पार्ने र जारमा स्थायी रूपमा नाम अनिवार्य लेख्नुपर्ने नियम विभागले बनाएपछि गुणस्तरमा निकै सुधार आएको उहाँले बताउनुभयो । बोतल पानीको गुणस्तरमा ९० प्रतिशत सुधार आएको उहाँले दाबी गर्नुभयो । अहिले पानीको विषयमा पनि खासै गुनासो नआएको उहाँले बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया