आठ हजार ६५९ मा कोरोना संक्रमण, एक हजार ९९३ कोरोनामुक्त, ५८ को मृत्यु

  बैशाख २२, २०७८

काठमाडौं, वैशाख २२ : पछिल्लो २४ घन्टामा नेपालमा थप आठ हजार ६५९ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा पिसीआर विधिबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।

पिसीआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट ६१६ गरी २१ हजार ३७२ को स्वाब परीक्षण गरिएको थियो । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ६१० पुगेको छ ।

कोरोना सङ्क्रमण भएका चार हजार ७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । आइसीयुमा ६०० र भेन्टिलेटरमा १५६ जना उपचार गराइरहेका छन् ।

५८ संक्रमितको निधन
कोरोना भाइरसको सङ्क्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ । यस अवधिमा एक हजार ९९३ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ८९ हजार ७८३ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा तीन हजार ८२५ मा सङ्क्रमण
काठमाडौँ उपत्यकामा तीन हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा दुई हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । एकै दिन काठमाडौँ उपत्यकामा १५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया