विराटनगर शीर्षस्थानमा उक्लियो

  बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : विराटनगर सिटी एफसी नेपाल सुपर लिगको शीर्षस्थानमा उक्लेको छ । गए राति सम्पन्न खेलमा सिटी एफसी चितवनलाई हराएर विराटनगर शीर्षस्थानमा उक्लिन सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा विराटनगरले चितवनमाथि २–० को सहज जित हात पार्यो । विराटनगरको जितमा पेड्रो माञ्जी र सन्तोष तामाङले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र विराटनगरले दुई गोल गर्यो ।

जितसँगै विराटनगरले चार खेलबाट सात अङ्क जोडेको छ । उसले दुईमा जित, एक बराबरी र एकमा हार बेहोरेको छ । समान सात अङ्क रहेको धनगढी दोस्रो स्थानमा छ । चितवन भने हारसँगै पूछारमा यथावत छ । उसले चार खेलमध्ये दुईमा हार र दुई बराबरी खेलेर दुई अङ्क जोडेको छ ।

तपाईको प्रतिक्रिया