अन्तर्राष्ट्रिय टी ट्वान्टीमा कीर्तिमान बनाएपछि दायित्व थपिएको छ : भूर्तेल

  बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेलले पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडकाको त्रिकोणात्मक श्रृखंलामा अनुपस्थितिले आफूहरुलाई उत्कृष्ट गर्न प्रेरित गरेको बताउनुभएको छ । त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिता पूर्ब अभ्यासको क्रममा पारस चोटग्रस्त भई प्रतियोगिताबाट बाहिरिनुभएको थियो ।

भुर्तेलले भन्नुभयो, “पारस नभएपनि केही गरौं भने भावना जागृत भयो ।” अलराउन्डर पारस नहुँदा नेपाली क्रिकेट टोलिमाथि मनोवैज्ञानिक दबाब हुने र उत्कृष्ट प्रदर्शन गर्न नसक्ने अपेक्षा गरिएको थियो । भुर्तेलले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा लगातार अद्र्धशतक लगाउने कीर्तिमान बनाएपछि दायित्व थपिएको बताउनुभयो । उहाँले कीर्तिमान बनाउनलाई नखेलेको बरु खेलेपछि स्वतः कीर्तिमान बन्ने सोच लिएर अगाडि बढेको प्रष्ट्याउनुभयो ।

उहाँले आसिफ र आफू ‘डोमिनेट’ गर्ने सोचकै साथ ब्याटिङको सुरुवात गर्दै आएको खुलाउनुभयो । “क्रिजमा रहुञ्जेल पावर प्लेको उपयोग गरी पावर शट खेल्ने नीति लिएर आउँथ्यो ।”– भुर्तेलले बताउनुभयो । २४ वर्षीय भुर्तेलले प्रतियोगिताको पाँच टी ट्वान्टी पारीमा ६९।५० को औसतले २७८ रन बनाउनुभयो । उहाँले प्रतियोगितामा १९८ बलको सामना गरेकोमा २४ चौका र १६ छक्का लगाउनुभयो । चारवटा अद्र्धशतक लगाउनुभयो ।

तपाईको प्रतिक्रिया